कर्णाली करीडोर अन्तरगत सिमकोट हिल्सा सडक खण्डको लाक्नामा निर्माण गर्दै आएको बाटो तीन दिनदेखि निर्माण कार्य अवरुद्ध भएको छ । सिमकोट गाउँपालिका–७ डाँडाफया र साविक डाँडाफया गाउँविकास समिति–३ ग्लालेखोरका स्थानीय नागरिकले गत शनीबारदेखि लाक्नामा निर्माणधिन सडकलाई अवरुद्ध बनाएका हुन् । सडक निर्माणका क्रममा स्काभेटरले तलपट्टी रहेको तीनवटा बाटोहरूलाई अवरुद्ध बनाएको भन्दै सो सडकलाई स्थानीयले तीन दिनदेखि अवरुद्ध बनाएको सहायक ठेकेदार इन्द्र लामाले बताउनुभयो ।
जसमा ग्वालेखोर, पाल्टसी र मुख्य रोड जानेबाट अवरुद्ध भएका कारण उक्त सडक सञ्चालनका लागि डाँडाफयाका ६५ घरदुरीका ५० जना स्थानीय नागरिक आएर लाक्नामा निर्माण हुँदै गरेको सडकलाई अवरोध गर्नु पर्ने बाध्य भएको स्थानीय जयबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार स्थानीयले गाउँतर्फ जाने सडकलाई पहिरोले अवरुद्ध बनाएपछि पुनः निर्माणका लागि गाउँबासीले करीव १० लाख रुपियाँ माग गर्दा ठेकेदारले नमानेका कारण सो बाटो बन्द गरिएको शाहीले बताउनुभयो ।
स्थानीय शाहीका अनुसार उक्त सडक खण्ड सामुदायीक बन समेत परेकाले कर स्वरुप गाउँबासीले नियम अनुसार आर्थिक संकलन लगायत तल तिरको गाउँ जाने सडक निर्माणमा ठेकेदारले ध्यान दिनु पर्ने भएको छ । यस विषयमा जिल्ला प्रशासन कार्यालय हुम्ला र हिल्सा सिमकोट सडक योजनामा स्थानीयहरूले डेलिकेशन गर्ने समेत शाहीले चेतावनी गरेका छन् ।
गौरी गणेश कन्ट्रक्सन काठमाण्डौसंग सम्झौता भएको उक्त निर्माणधिन सडक हाल तीन दिनदेखि अवरुद्ध भएको छ । उक्त सडक अवरुद्ध हुँदा हाल नाम्खा गाउँपालिका र डाँडाफयाका स्थानीयलाई सदरमुकाम सिमकोट आवतजावतमा समस्या भएको हिड्ने बटुवा लोग भण्डारीले गुनासो गर्नुभयो । बटुवा भण्डारीक अनुसार उक्त कडा चट्टानी भागलाई छिटो छरीता निर्माण गरेको भए स्थानीय र सवारी साधनलाई समेत आवत जावतमा सहज हुने थियो ।
हाल सिमकोट गाउँपालिका–१ दोजामका विजय लामाले सडक निर्माणको जिम्मा लिनु भएको छ । लाक्नामा रहेको उक्त कडा चट्टानलाई करीव दुई हप्तादेखि फोड्ने कार्य भइरहेको थियो । यस अघि पनि उक्त गाउँबासीले यस्तै दुख दिने गरेको आरोप हिल्सा सिमकोट सडक योजना प्रमुख वेलबहादुर नेपालीले लगाउनुभयो । अहिले पनि यस्तो व्यवहार गरेकोले खासै क्वान्टीटि र क्वालीटी घटाएर उनिहरूलाई खर्च दिन सक्ने सम्भावन नरहेको योजना प्रमुख नेपालीले बताउनुभयो ।
