सिमकोट । हुम्लाको दक्षिण क्षेत्रका तीनवटा गाउँपालिका मेडिकल र फार्मेसी औषधि पसलहरूको अनुगमन गरिएको छ । ०८१ जेठ १७ गतेदेखि १९ गतेसम्म नियमित रुपमा उक्त मेडिकल र फार्मेसी पसहलहरूको अनुगमन गरिएको हो । जिल्ला प्रशासन कार्यालय हुम्लाको संयोजकत्वमा जिल्लाको ताँजाकोट, अदानुचुली र चंखेली गाउँपालिका भित्रका निजि मेडिकल, फार्मेसी र स्थानीय तह मताहतका स्वास्थ्य संस्थाहरूको पनि अनुगमन गरिएको हो ।
अनुमगनका क्रममा पहिलो दिन ताँजाकोट गाउँपालिका, दोस्रो दिन अदानचुली गाउँपालिका र तेस्रो दिन चंखेली गाउँपालिकामा रहेका निजि तथा सरकारी स्वास्थ्य संस्थाहरूको अनुगमन गरिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख एवंम अनुगमन समितिका सदस्य सचिव प्रेम बहादुर सिंहले जानकारी दिए ।
सदरमुकाम सिमकोटबाट गएको उक्त टोलिले पहिलो दिन ताँजाकोट गाउँपालिका–२ स्थित पैमा खोलमा ढकाल किल्निक एण्ड नवीन फार्फेसी औषधि पसलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा नविकरण, कर चुक्ता, अन्य आधिकारीक प्रमाणहरू भए पनि केही औषधि म्याद नाघेको पाइएको थियो ।
त्यस्तै सोही दिन ताँजाकोट गाउँपालिका वडा नम्वर २ को कवाडीमा रहेको सुजाता मेडिकल हल एण्ड सप्लायर्समा अन्य प्रमाण भए पनि औषधि भने म्याद नाघेको भेटिएको थियो । सोही सुजाता मेडिकल हल एण्ड सप्लायर्सको अर्को अदानचुली गाउँपालिका–२ स्थित दोमुखमा रहेको शाखामा भने कुनै पनि प्रमाण नराखेको र केही औषधि पनि म्याद सकिएको भेटिएको हो ।
दोस्रो दिन अदानचुली गाउँपालिका–३ को तारा स्वास्थ्य क्लिनिकमा पनि सामान्य रुपमा म्याद नाघेको औषधि भेटिएको हो । अनुगमन टोलिले तेस्रो दिन चंखेली गाउँपालिका–४ स्थित सलिसल्लामा रहेको हिमाल पोलिक्लिनिक एण्ड रिसर्च सेन्टर प्रा.लि.को अनुगमन गरेको थियो । सो पोलिक्लिनिकले आफ्नो अधिकार भन्दा अन्य भिभिन्न सेवाहरू सञ्चालन गरेको पाइएको छ भने म्याद सकिएका औषधि पनि भेटिएको थियो ।
अनुगमनका क्रममा म्याद सकिएका औषधि बरामत गर्दै उक्त टोलिले डिस्पोज गरेको थियो । अधिकांस मेडिकल तथा फार्मेसी पलहरूमा औषधि विक्रि तथा वितरण गर्ने स्वास्थ्यकर्मी र कुनै पसलमा उपचार गर्ने तर विक्रि गर्न पाउने स्वास्थ्यकर्मी नभएको देखिएको छ । गाउँका अधिकांस स्वास्थ्य संस्था तथा विक्रि पसलमा नियम विपरीतका स्वास्थ्यकर्मी रहेका छन् ।
त्यस्तै अधिकांसमा बोर्ड समेत नराखिएको, डाक्टरले दिन मिल्ने तर उनिहरुले दिन नमिल्ने औषधि समेत राखेर विक्रि गर्ने गरेको पाइएको छ ।
उक्त अनुगमनमा रहेको टोलिले नविकरण, कर चुक्ता लगायतका अन्य विभिन्न अनुमतिपत्रहरू नभएका पसलहरूलाई एक महिनाका लागि माफि दिएको र त्यसपछि पनि त्यस्तो भेटिएमा सो पसलहरूलाई बन्द गर्ने स्वास्थ्य सेवा कार्यालय हम्लाका प्रमुख सिंहले चेतावनी समेत दिएका छन् ।
अनुगमनमा स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादुर सिंह, जिल्ला प्रशासन कार्यालयका नायव सुव्बा सिकिन्द्र कुमार सिंह महोत्तो, जिल्ला अस्पतालका डाक्टर कैलाश लामा, नेपाल पत्रकार महासंघ हुम्लाका सचिव नन्द सिंह, स्वास्थ्यकर्मी प्रेम पाण्डे र दुर्गा श्रेष्ठ रहेका थिए । यस अघि पनि सर्केगाड गाउँपालिका लगायतका स्थानीय तहमा रहेका औषधि पसलहरुमा अनुगमन गरिएको थियो ।