

शिक्षक अन्दोलनका कारण विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । शिक्षक आन्दोलनकै कारण हुम्लामा २१ दिनदेखि सम्पुर्ण विद्यालयमा पठनपाठन ठप्प भएको हो । काठमाडौँ केन्द्रित नेपाल शिक्षक महासंघको आन्दोलनलाई समर्थन गर्दै हुम्लाका शिक्षकले जिल्लामा आन्दोलन जारी राख्दै आएका कारण विद्यालयहरूमा पठनपाठन बन्द भएको छ ।
आफ्नो माग पुरा गर्नका लागि विद्यालयमा पठनपाठन गर्न छोडेर शिक्षकहरू आन्दोलनमा उत्रिएपछि हामी हजारौँ विद्यार्थीको पठनपाठन प्रभावित भएको नाम्खा गाउँपालिका–४ स्थित महावौद्ध मावि कक्षा १० मा अध्ययनरत छात्रा सत्या बुढाले गुनासो गर्नुभयो । छात्रा बुढाका अनुसार गत तीन सातादेखि विद्यालयमा शिक्षकहरू सहभागि नभई सदरमुकाम केन्द्रितले विद्यार्थीको गुणस्तरीय शिक्षामा समस्या पारेको छ ।
करीव दुई÷तीन दिन लगाएर विद्यालयमा आएका हामी विद्यार्थीको पीडा नसम्झेर आफ्नो माग पुर्तिका लागि शिक्षक, शिक्षिकाहरू आन्दोलनमा उत्रिनुले विद्यार्थीको भविश्य के हुने हो ? त्यो भने सम्बन्धित सरोकारवाला निकाय र विद्यालयका शिक्षकहरूले बुझ्नु पर्ने बाध्यता हो । हामी जस्ता सर्वसाधारण जन्ताका छोरा छोरीको ख्याल नगर्नुका साथै अबको शिक्षा क्षेत्र कस्तो खाले हुने हो छात्रा बुढाले गुनासो गर्नुभयो ।
शिक्षक आन्दोलनकै कारण यो वर्ष पठ्यपुस्तकमा रहेको विषयबस्तु सम्पन्न नहुने र परिक्षा समेत सोचे जस्तो नहुने देखिएको विद्यार्थीहरूले चिन्ता व्यक्त गरेका छन् । जिल्लामा शिक्षकले आन्दोलन गर्दा जिल्लाभरी पठनपाठन ठप्प भएको नेपाल शिक्षक संघका केन्द्रीय उपमहासचिव कालीबहादुर शाहीले बताउनुभयो । सरकारले समयमै महासंघले राख्दै आएका माग सम्बोधन नगरेका कारण जिल्लामा पठनपाठन बन्द भएको उहाँले बताउनु भयो ।
गत चैत २० गतेदेखि हुम्ला जिल्लाका शिक्षकले आन्दोलन गर्दा पनि सरकारले शिक्षकका माग पूरा गर्ने कुनै छाँट नदेखाएको भन्दै हुम्लाका शिक्षकले आन्दोलन जारी राख्दै आएका छन् । दैनिक दिन र्यालीसँगै शिक्षा विकास तथा समन्वय इकाइमा पुगेर धर्ना गर्दै आएका छन् । त्यस यता हुम्लाका शिक्षकले लगातार आन्दोलन गर्दै आएका हुन् ।
सडकमार्ग चैत २५ गतेबाट बन्द भएको छ भने हवाईमार्ग नियमित नभएकाले काठमाडौँ जान नपाएको भन्दै शिक्षकले आन्दोलन गरेर समर्थन गरिरहेको बताएका छन् । शिक्षक आन्दोलितका कारण जिल्लाका १ सय १८ आधारभूत र २८ माध्यमिक विद्यालयका २० हजार भन्दा बढी विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख योगेश आले मगरले बताउनुभयो ।