काठमाडौँ । महिला आर्थिक पत्रकार संघ (फेजा) को आयोजनामा वीरगंजमा दुई दिने प्रशिक्षण कार्यक्रम शुरु भएको छ । माघ ३ र ४ गते सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा १५ जना महिला आर्थिक पत्रकारहरुको सहभागिता रहेको छ ।
एशियाली विकास बैंक (एडिबीको ) सहयोगमा आर्थिक पत्रकारिता शुरु गरेका महिला पत्रकारहरुको क्षमता विकास तथा बिस्तारका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको फेजाकी अध्यक्ष शर्मिला ठकुरीले बताइन् ।यो कार्यक्रमले मधेश प्रदेशका महिला आर्थिक पत्रकारहरुको क्षमता अभिबृद्धिका साथै यस क्षेत्रका महिला पत्रकारहरुको संख्यामा पनि वृद्धि हुने अपेक्षा अध्यक्ष ठकुरीले गरेकी छिन् ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै पत्रकार महासंघ, पर्साका अध्यक्ष ओम प्रकाश खनालले फेजाले महिला पत्रकारहरूका लागि मात्र आयोजना गरेको प्रशिक्षण कार्यक्रमले आर्थिक पत्रकारितामा महिला पत्रकारहरूको रुचि बढ्ने अपेक्षा गरे । उनले वीरगंज आयात÷निर्यात तथा उत्पादको केन्द्र भएकाले पनि यहाँको पत्रकारहरुलाई आर्थिक पत्रकारीता सम्वन्धी तालिमले विशेष भूमिका खेल्ने उनको भनाई छ ।
त्यसैगरी एडिबीका प्रमुख अर्थशास्त्री इयान ह्यान्सनले मधेश प्रदेश अर्थतन्त्रको उद्गमस्थल र आर्थिक गतिविधी धेरै हुने स्थान भएकाले तालिम सञ्चालन गर्दा यहाँका पत्रकारहरुलाई आर्थिक समाचार कसरी लेख्ने भन्ने बारेमा जानकारी दिन सहयोग पुर्याउने अपेक्षा रहेको बताए । एडिबीको सहयोगमा आयोजित महिला पत्रकारहरुको क्षमता विकास कार्यक्रमले यहाँका चुनौतिको विषयलाई नेपालभर प्रभावकारी रुपमा प्रस्तुत गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास इयानको छ । यो प्रशिक्षणको सिकाईले महिला पत्रकारहरूको आर्थिक तथ्याङ्क विश्लेषण गर्ने , निर्धक्क भएर प्रश्न सोध्ने र आर्थिक नीतिहरु नागरिकका लागि अर्थपूर्ण बनाउन सक्षम बन्ने अपेक्षा उनले राखे ।
काठमाडौंमा उपत्यका र सूदूरपश्चिम प्रदेशमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रम निकै सफल भएको स्मरण गर्दै उनले प्रदेश स्तरमा आयोजना गरिएको कार्यक्रम पनि सफल बन्ने विश्वास व्यक्त गरे । कार्यक्रममा एडीबीका प्रतिनिधी तथा प्रतिष्ठित सञ्चारमाध्यममा कार्यरत सम्पादक तथा प्रशिक्षकहरुको सहभागिता रहेको छ ।
