हुम्ला । अविरल वर्षाका कारण खेतमै काटेर थुपारेको धान कुहिएपछि सिमकोट गाउँपालिका–८ खोल्सी गाउँका किसान चिन्तित बनेका छन् ।
गत कात्तिक १२ गतेदेखि १४ गतेसम्म लगातार परेको वर्षाका कारण खेतमा काटेर थुपारिएको धान भिजेर कुहिएको हो । स्थानीय किसानले कात्तिक १० गते धान काटेर खेतमै थुपारेका थिए । केही दिनपछि मौसममा सुधार आउने र धान चुट्न सकिने आशावादीमा रहेका किसानलाई लगातारको वर्षाले निराश बनाएको छ ।
गाउँका करिब एक सय घरधुरी किसान यसबाट प्रभावित भएका छन् । प्रत्येक घरधुरीले कम्तीमा पाँच क्विन्टलसम्म धान उत्पादन गर्ने गरेका थिए । उक्त धानले एउटा परिवारलाई करिब छ महिनासम्म खान पुग्ने गरेको थियो । तर, यस वर्ष पाकेर काटिसकेको धान खेतमै कुहिएपछि किसानलाई खाद्यान्नको समस्या हुने चिन्ता बढेको छ ।
कात्तिक १७ गते धान चुट्नका लागि खेतमा पुगेका गाउँलेले काटेर थुपारेको धान कुहिएको अवस्थामा फेला पारेपछि निराश भएका हुन् । वर्षौँदेखि खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएका किसानलाई यस वर्षको वर्षाले ठूलो क्षति पुर्याएको छ ।
केही दिनदेखि काटेर खेतमै राखिएको धानलाई त्रिपालले छोपेर सुरक्षित राख्ने प्रयास गरे पनि लगातारको वर्षाका कारण धान जोगाउन नसकिएको स्थानीय किसान सन्तोष सिंहले बताउनुभयो । दुःख गरेर उत्पादन गरेको अन्नबाली भित्र्याउने बेलामै नष्ट भएपछि परिवारको खाद्यान्न व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता थपिएको उहाँको भनाइ छ ।
खोल्सी गाउँका अधिकांश स्थानीयको मुख्य जीविकोपार्जनको आधार कृषि नै हो । वर्षभरि परिवारलाई खान पुग्ने अन्न उत्पादन गर्ने आशामा किसानले मेहनतका साथ धानखेती गर्दै आएका छन् । तर, बाली भित्र्याउने समयमा परेको बेमौसमी वर्षाले उनीहरूको मेहनत खेर गएको छ ।
धान खेतमै कुहिएपछि यस वर्ष गाउँमा खाद्यान्न अभाव हुन सक्ने चिन्ता स्थानीयमा देखिएको छ । उत्पादनमा भएको क्षतिले किसानको दैनिक जीवनयापनसमेत प्रभावित हुने देखिएको छ ।
प्राकृतिक विपत्तिका कारण बालीमा क्षति पुगेका किसानलाई स्थानीय सरकार तथा सम्बन्धित निकायले स्थलगत अनुगमन गरी समयमै क्षतिको विवरण सङ्कलन गर्नुपर्ने र आवश्यक राहत तथा सहयोग गर्नु पर्ने देखिएकाे छ ।
