सुर्खेत । सुर्खेत प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को राजनीतिक परिदृश्य यसपटक केवल उम्मेदवारको प्रतिस्पर्धामा सीमित छैन । यो चुनाव संगठन, उत्तराधिकार, स्थानीय राजनीतिक संस्कार र जनविश्वासको परीक्षणको मैदान बनेको छ । यही परिवेशमा नेपाली कांग्रेस सुर्खेतका उपसभापति विष्णुबहादुर खड्का पहिलो पटक प्रत्यक्ष निर्वाचनमा उत्रिँदा उनको उम्मेदवारीलाई सामान्य राजनीतिक घटनाभन्दा फरक ढंगले हेरिएको छ ।
लामो समयदेखि संगठनको भित्री संरचना बलियो बनाउने भूमिकामा सक्रिय रहँदै आएका खड्का यसअघि सार्वजनिक राजनीतिक मञ्चमा सीमित देखिने नेता थिए । पार्टीभित्र उनलाई ‘कामले बोल्ने, प्रचारभन्दा परिणाममा विश्वास गर्ने’ संगठनकर्ता मानिन्छ । यही कारण उनी उम्मेदवार बन्ने चर्चामा स्वयम् अग्रपङ्क्तिमा थिएनन् । तर क्षेत्र नं. १ भित्र कांग्रेसको राजनीतिक भविष्य कसले सम्हाल्ने भन्ने प्रश्न बलियो बन्दै जाँदा अन्ततः उनको नाम नै कार्यकर्ता र मतदाताको साझा अपेक्षामा रूपान्तरण भयो ।
यो राजनीतिक मोड त्यतिबेला निर्णायक बन्यो जब क्षेत्रका लामो समयका प्रतिनिधि तथा पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का ले निर्वाचन नलड्ने सार्वजनिक घोषणा गरे । कांग्रेसको परम्परागत प्रभाव रहेको यो क्षेत्रमा उत्तराधिकारको प्रश्न स्वाभाविक थियो । यहाँ भाइको रूपमा चिनिने व्यक्तिलाई अघि सार्नु परिवारवादको पुनरावृत्ति हो कि संगठनात्मक निरन्तरताको आवश्यकता भन्ने बहस पनि समानान्तर रूपमा उठ्यो ।
राजनीतिक रूपमा खड्काको यात्रालाई यो समाचार लेखिका लिजा क्षेत्रिको कलम बाट नियाल्दा उनी कुनै आकस्मिक उदय भएका पात्र होइनन् । उनी सुर्खेत कांग्रेसको संगठनात्मक संरचनामा वर्षौं खटिएका नेता हुन् । आफ्नै दाजु पूर्णबहादुर खड्काको स्थापित राजनीतिक उचाइका कारण उनी लामो समय सार्वजनिक राजनीतिक प्रतिस्पर्धाबाट टाढा बसेको तथ्य स्वयं कांग्रेसभित्र खुला रूपमा स्वीकार गरिन्छ । एउटै परिवारका दुई सदस्य एकसाथ सत्ताको राजनीतिमा सक्रिय हुँदा उत्पन्न हुन सक्ने आलोचनाबाट जोगिन उनी संगठन निर्माणमै सीमित रहन चाहन्थे । यही संयम र राजनीतिक धैर्य अहिले उनको सबैभन्दा बलियो पूँजीका रूपमा देखिन थालेको छ ।
खड्काको संगठनात्मक छविलाई पुष्टि गर्ने अर्को आधार उनको व्यावसायिक नेतृत्व अनुभव पनि हो । मध्यपश्चिम यातायात व्यवसायी समितिको नेतृत्व सम्हाल्दै उनले संस्थागत व्यवस्थापन, समन्वय र विवाद समाधानमा देखाएको कार्यशैलीले उनलाई केवल राजनीतिज्ञ नभई व्यवस्थापक नेताको रूपमा स्थापित गराएको कांग्रेसका नेताहरू बताउँछन् । पार्टीको १४ औँ महाधिवेशनमा सुर्खेत कांग्रेसको उपसभापतिमा भारी मतसहित निर्वाचित हुनु पनि उनको आन्तरिक पकड र संगठनभित्रको स्वीकार्यताको प्रमाण मानिन्छ ।
यसपटक उनी उम्मेदवारका रूपमा प्रस्तुत हुँदा क्षेत्र नं. १ भित्र उनको छविलाई ‘स्वच्छ, विवादरहित र पहुँचयोग्य नेता’ का रूपमा व्याख्या गरिँदै आएको छ । स्थानीय तहका कांग्रेस कार्यकर्ताहरूका अनुसार खड्का राजनीतिक पदका लागि भन्दा संगठन र जनसम्पर्कका लागि चिनिएका व्यक्ति हुन् । वर्षौंदेखि गाउँ बस्तीमा हुने व्यक्तिगत दुःखसुख, सामाजिक विवाद, विकासका माग र प्रशासनिक झमेलामा उनी निरन्तर देखिँदै आएका कारण उनीलाई ‘चुनावको बेला मात्रै देखिने नेता’ को सूचीमा राखिँदैन । राजनीतिक रूपमा महत्वपूर्ण मानिने कुरा के हो भने खड्का स्वयं उम्मेदवार बन्ने दौडमा थिएनन् । पार्टीले पठाउने जुनसुकै उम्मेदवारलाई जिताउने जिम्मेवारी लिने मानसिकतामा रहेका उनलाई कार्यकर्ता र स्थानीय मतदाताले नै अघि सारे ।
उम्मेदवारी दर्ताका क्रममा उनले व्यक्त गरेको “जनताको दबाब र कार्यकर्ताको मायालाई नकार्न नसकेरै म चुनावी मैदानमा आएको हुँ” भन्ने अभिव्यक्ति केवल भावनात्मक वाक्य नभई पछिल्ला महिनामा क्षेत्रभित्र विकसित राजनीतिक दबाबको प्रतिविम्ब हो । मनोनयन दर्ता भएको दिन मेहेलकुनास्थित निर्वाचन अधिकृतको कार्यालयमा देखिएको उपस्थिति र उत्साहले पनि कांग्रेसभित्र खड्काको उम्मेदवारीप्रति रहेको सामूहिक मनोविज्ञान देखाएको थियो। अब उनीसँगको मुख्य प्रतिस्पर्धा नेकपा एमालेका
उम्मेदवारसँग हुने देखिन्छ । यस सन्दर्भमा नेकपा एमाले बाट उम्मेदवार बनेका ध्रुवकुमार शाही खड्काका प्रमुख प्रतिद्वन्द्वी हुन् । यसका अतिरिक्त, चुनावी मैदानमा राष्ट्रिय स्वतन्त्र पार्टी का टेकबहादुर सिंह, नेकपाका जीतबहादुर राना तथा राष्ट्रिय प्रजातन्त्र पार्टी का रविकिरण हमाल पनि प्रतिस्पर्धामा छन् । तर स्थानीय राजनीतिक विश्लेषक र कांग्रेस कार्यकर्ताहरूको बुझाइमा मुख्य प्रतिस्पर्धा खड्का र एमाले उम्मेदवारबीच नै केन्द्रित हुने सम्भावना छ ।
क्षेत्र नं. १ लाई कांग्रेसको परम्परागत किल्लाका रूपमा लिइँदै आए पनि पछिल्ला निर्वाचनहरूमा संगठनात्मक कमजोरी, मत विभाजन र आन्तरिक असन्तुष्टिका कारण कांग्रेस अपेक्षाअनुसार सफल हुन सकेको थिएन । यही पृष्ठभूमिमा खड्काको उम्मेदवारीलाई ‘संगठन पुनर्जागरणको प्रयोग’ का रूपमा हेरिएको छ । उम्मेदवारी दर्तापछि उनी पूर्ण रूपमा घरदैलो अभियानमा केन्द्रित छन् । विशेष गरी गुर्भाकोट नगरपालिका भित्रका बस्तीहरूमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले आफ्नो अभियानलाई औपचारिक नारा र भीडभन्दा बढी व्यक्तिगत भेटघाटमा आधारित बनाएका छन् । उनको मुख्य सन्देश क्षेत्र नं. १ को चौतर्फी विकास, शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तार, पूर्वाधार निर्माण, रोजगारी सिर्जना, महिला तथा युवा सशक्तिकरण र स्थानीय तहसँगको समन्वयमा आधारित विकास मोडेलमा केन्द्रित छ ।
घरदैलोका क्रममा उनले बारम्बार उल्लेख गर्ने अर्को राजनीतिक पक्ष भनेको निवर्तमान सांसद पूर्णबहादुर खड्काले सुरु गरेका विकास योजनाहरूको निरन्तरता हो । अधुरा पूर्वाधार आयोजना, सडक सञ्जाल, स्वास्थ्य संरचना र विद्यालय सुधारका कार्यक्रमलाई अघि बढाउन आफ्नो जित आवश्यक रहेको उनको दाबी छ । तर उनी आफूलाई केवल ‘उत्तराधिकारी’ का रूपमा सीमित गर्न चाहँदैनन् । बरु विगतका योजनालाई संस्थागत गर्दै नयाँ प्राथमिकता थप्ने नेताका रूपमा स्थापित हुने रणनीतिमा देखिन्छन् ।यसपटक क्षेत्र नं. १ भित्र अर्को महत्वपूर्ण मनोविज्ञान भनेको ‘टेस्टेड र अनटेस्टेड’ को बहस हो । स्थानीय कांग्रेस कार्यकर्ताहरू खुलेर भन्छन् यसअघिका धेरै उम्मेदवार जनताले परीक्षण गरिसकेका छन् । नयाँ सोच, नयाँ कार्यशैली र कम विवादित छवि भएका उम्मेदवारप्रति जनआकर्षण बढ्दै गएको अवस्थामा खड्का उपयुक्त विकल्प बनेको उनीहरूको दाबी छ।
विशेष गरी युवा मतदातामाझ उनको स्वीकार्यता बढ्नु राजनीतिक रूपमा महत्वपूर्ण संकेत हो । हालसम्म कुनै पनि राजकीय पदमा नरहेका, प्रत्यक्ष सत्ता अभ्यास नगरेका र संगठनात्मक पृष्ठभूमिबाट आएका कारण उनीप्रति ‘अनटेस्टेड तर भरोसायोग्य’ भन्ने धारणा निर्माण हुँदै गएको देखिन्छ । खड्काले सार्वजनिक रूपमा व्यक्त गरेको राजनीतिक प्रतिबद्धतामा लोकतन्त्रलाई जनताको सक्रिय सहभागिताबाट बलियो बनाउने अवधारणा मुख्य छ । उनले शिक्षा, स्वास्थ्य, रोजगारी र समावेशी विकासलाई चुनावी नारा मात्र नभई कार्यान्वयनयोग्य कार्यक्रमका रूपमा प्रस्तुत गर्ने दाबी गरेका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनमा रूख चिन्हमा मतदान गर्न आग्रह गर्दै उनले आफ्नो जितलाई व्यक्तिगत सफलता नभई सुर्खेत–१ को भविष्यसँग जोडेर व्याख्या गरेका छन् ।
राजनीतिक रूपमा हेर्दा, खड्काको चुनाव केवल एक उम्मेदवारको जित हारको विषय होइन । यो सुर्खेत कांग्रेसभित्र संगठनात्मक राजनीतिबाट प्रत्यक्ष जनमतको राजनीतिमा प्रवेश गर्ने एउटा परीक्षण हो । पर्दा पछाडिको संगठनकर्ता प्रत्यक्ष मतदाताको कठोर मूल्याङ्कनमा कत्तिको सफल हुन्छन् भन्ने प्रश्नको उत्तर यही निर्वाचनले दिनेछ । लामो समयको संगठनात्मक लगानी, विवादरहित छवि, स्थानीय तहसम्मको पहुँच र कार्यकर्ताको स्पष्ट समर्थनका आधारमा खड्काले सुर्खेत क्षेत्र नं. १ मा कांग्रेसको राजनीतिक उत्तराधिकारलाई सुरक्षित राख्न सक्ने सम्भावना बलियो देखिन थालेको छ ।
