हुम्ला । सिमकोट गाउँपालिकाका दलित विपन्न तथा एकल महिलाको निःशुल्क स्वास्थ्य बिमा गरिदै आएको छ । स्वास्थ्य उपचारमा सहजताका लागि गाउँपालिकाले स्वास्थ्य बिमा गर्दै आएको हो । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०–०८१ मा विनियोजित बजेट मार्फत पहिलो चरणमा ५९ जना दलित विपन्न महिला तथा एकल महिलाको निःशुल्क स्वास्थ्य बिमा गरेको गाउँपालिका स्वास्थ्य संयोजक नर बहादुर भण्डारीले बताएका छन् ।
गाउँपालिकाको वडा नम्बर १ मा दलित समुदायको बसोबास नभएकाले २ देखि ८ वडा सम्मका विपन्न तथा एकल महिलाको स्वास्थ्य बिमा गरिएको संयोजक भण्डारीले बताए । यस्तै वडा नम्बर २ मा रहेका १४ जना, वडा ३ का १०, वडा ४ मा एक, वडा ५ मा ८, वडा ६ मा ७, वडा ७ मा ८ जना र वडा नम्बर ८ मा रहेका ११ जना एकल दलित महिलाको निःशुल्क स्वास्थ्य बिमा गरिएको संयोजक भण्डारीले जानकारी दिए ।
प्रति व्यक्ति लाग्ने विमित रकम ३ हजार ५ सय रुपियाँ गाउँपालिकाले तिरि दिएको गाउँपालिका उपाध्यक्ष शुशिला रोकाया भामले बताइन् । स्वास्थ्य बिमा कार्यक्रमले लक्षित परिवारका सदस्यहरुलाई अबदेखि सहज स्वास्थ्य सेवाको पहुँच पुग्ने विश्वास गरेको छ । आगामी आर्थिक वर्षबाट दिर्घरोगीका विरामीको समेत निःशुल्क स्वास्थ्य बिमा गरिने भएको छ ।
निःशुल्क स्वास्थ्य बीमा कार्यक्रममा अब छुटेकालाई पनि चाँडै बिमा कार्यक्रममा समेटिने भएको छ । असारपछि दलित विपन्न र एकल महिला मात्रै नभएर सूचीकृत भएका दीर्घरोगी पुरुष, महिलालाई निःशुल्क स्वास्थ्य बीमामा समेटिदै जाने गाउँपालिकाले जनाएको छ ।