बाढी पहिरो पीडितलाई स्थानीय महिलाको आर्थिक सहयोग

Logo
नन्द सिंह बुधबार, आश्विन ०७, २०८३

हुम्ला । रसुवाको भोटेकोशी क्षेत्रमा हालै आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित भएका पीडितहरूका लागि हुम्लाका दुर्गम गाउँका स्थानीय महिलाहरूले आफैं रकम संकलन गरेर आर्थिक सहयोग प्रदान गरेका छन् । भौगोलिक रूपमा अत्यन्तै विकट रहेको हुम्ला जिल्लाका महिलाहरूले देखाएको यो मानवीय कार्यले सर्वत्र प्रशंसा बटुलिने भएको छ ।

हुम्लाको सर्केगाड र चंखेली गाउँपालिकाका १३ जना महिलाहरू एकजुट भई बाढीपहिरो पीडितको घाउमा मलम लगाउने प्रयास गरेका हुन् । उनीहरूले प्रति व्यक्ति ५ सय रुपियाँका दरले कुल ६ हजार ५ सय रुपियाँ आर्थिक सहयोग संकलन गरेका छन् । सर्केगाड गाउँपालिका–८ राहादेउ गाउँकी स्थानीय आयुष्मा बुढाथोकीले यस परोपकारी कार्यको पुष्टि गर्दै महिलाहरूले आफ्नो सानो प्रयासबाट देशको अर्को कुनामा परेको संकटमा ऐक्यबद्धता जनाएको बताउनुभयो ।

हिन्दू नेपाली महिलाहरूको महान् चाड तीजको विशेष कार्यक्रमका अवसरमा यी महिलाहरूले उक्त रकम जम्मा गरेका हुन् । तीजको दर खाने र रमाइलो गर्ने कार्यक्रमकै बीच उनीहरूले भदौ १० गते रसुवाको भोटेकोशीमा बाढी र पहिरोले पु¥याएको क्षति र नागरिकहरूले भोग्नु परेको सास्तीबारे छलफल गरेका थिए । चाडबाडको खुसीयाली मनाइरहँदा देशकै अर्को भागका नागरिकहरू घरबार विहीन भएको दुःखद खबरले उनीहरूलाई स्तब्ध बनाएको थियो ।

त्यसपछि, तीजको खर्चमा केही कटौती गरेर भए पनि संकटमा परेका दिदीबहिनी र दाजुभाइलाई सहयोग गर्ने निर्णय उनीहरूले सामूहिक रूपमा लिएका हुन् । हुम्ला आफैंमा आर्थिक र पूर्वाधारका हिसाबले नेपालकै पछाडि परेको क्षेत्र मानिन्छ । यहाँका स्थानीय बासिन्दाहरूले दैनिक जीवनयापनका लागि निकै ठूलो संघर्ष गर्नुपर्छ ।
यस्तो अवस्थामा पनि यहाँका महिलाहरूले देखाएको यो ५ सय रुपियाँको व्यक्तिगत योगदान रकमको आकारका हिसाबले सानो देखिए पनि यसको मानवीय र सांकेतिक मूल्य भने निकै ठूलो र सराहनीय छ । यसले नेपाली समाजमा परम्परागत रूपमा रहेको “हुनेले नहुनेलाई दिने“ र “दुःखमा सद्भाव बाँड्ने“ भावनालाई पुनः उजागर गरेको छ ।
रसुवाको भोटेकोशीमा आएको भीषण बाढी र पहिरोले धेरै परिवारलाई विस्थापित बनाएको छ भने ठूलो मात्रामा धनजनको क्षति पु¥याएको छ । पीडितहरू अहिले अस्थायी शिविरमा कष्टकर जीवन बिताउन बाध्य छन् र उनीहरूलाई तत्काल खाद्यान्न, लत्ताकपडा र आर्थिक सहायताको खाँचो परेको छ । उक्त घटनामा हुम्लाका १२ जना व्यक्तिहरू परेका छन् । यस्तो संवेदनशील समयमा, हुम्लाका महिलाहरूको सहयोगले पीडितहरूमा थोरै भए पनि राहत र “हाम्रो दुःखमा साथ दिने कोही छ“ भन्ने मानसिक ढाडस मिल्ने विश्वास गरिएको छ ।

तीज जस्तो सांस्कृतिक पर्वलाई केवल तडकभडक र खर्चिलो रूपमा मात्र नमनाई, समाजसेवा र मानवीय सहायतासँग जोडेर हुम्लाका १३ जना महिलाहरूले समाजमा एउटा उदाहरणीय र प्रेरक सन्देश प्रवाह गरेका छन् । उनीहरूको यो कदमले देशका अन्य क्षेत्रका नागरिक तथा संघसंस्थाहरूलाई पनि रसुवाका बाढीपहिरो पीडितहरूको सहयोगका लागि अगाडि बढ्न सरकारी र गैरसरकारी निकायहरूबाट प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।

उक्त रकम नेपाल पत्रकार महासंघ हुम्लाका सचिव, एवम इन्सेक जिल्ला प्रतिनिधि (मानवअधिकारकर्मी) नन्द सिंहलाई बुझाउँदै सिंहले जिल्ला प्रशासन कार्यालय हुम्लाको समन्वयमा प्रधानमन्त्री दैविक प्रकोप राहत उद्धार कोषमा जम्मा गर्नु भएको छ ।

 

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: बेलुमाया महतारा
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला