

हुम्ला । जिल्ला अस्पताल हुम्लामा रहेको चमेनागृह (क्यान्टिन) बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । प्रदेश सरकारले चमेनागृहका लागि आर्थिक व्यवस्था मिलाउन नसकेपछि जिल्ला अस्पतालमा भर्ना भएका बिरामी उक्त सेवाबाट प्रभावित भएका हुन् ।
कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जिल्लामा रहेका अस्पतालमार्फत इमर्जेन्सीमा भर्ना भएका बिरामीको कुरुवा वा बिरामी, एक जनाका लागि खाना खुवाउने नीति तथा प्रावधान बनाएको छ । उक्त नीति अनुरूप जिल्ला अस्पताल हुम्लाले ठेक्कामार्फत कोटेसन गर्दै आएको थियो । गत आव २०८०र८१ मा महादेव निर्माण सेवा एन्ड सप्लायर्स र साँगे निर्माण सेवा एन्ड सप्लायर्सले बिरामीलाई खाना खुवाउने ठेक्का पाएका थिए ।
गत आव २०८०र८१ मा दुई वटै सप्लायर्सले पाउनुपर्ने जम्मा २३ लाख रुपियाँमध्ये महादेव निर्माण सेवा एन्ड सप्लायर्सले नौ लाख ९१ हजार १२३ रुपियाँ र साँगे निर्माण सेवा एन्ड सप्लायर्सको तीन लाख ८३ हजार २७४ रुपियाँ भुक्तानी भएको छ । आठ लाख ६८ हजार ३९७ रुपियाँ भुक्तानी हुन बाँकी रहेको जिल्ला अस्पताल हुम्लाका सूचना अधिकारी नन्दबहादुर शाहीले बताउनुभयो ।
त्यस्तै आव २०८१र८२ मा साँगे निर्माण सेवा एन्ड सप्लायर्सको सात लाख ८१ हजार ५४० रुपियाँ भुक्तानी हुन बाँकी रहेको जिल्ला अस्पतालको स्रोतले जनाएको छ । यो रकम भुक्तानी नहुँदा ठेकेदार पनि मर्कामा परेका छन् । कर्णाली प्रदेशको सामाजिक विकास कार्यालयले उक्त रकम नपठाउँदा अस्पतालमा रहेको चमेनागृह गत फागुनदेखि सञ्चालन हुन नसकेको र जिल्ला अस्पतालमा आउने बिरामीले पनि सेवा नपाएको उहाँको भनाइ छ ।
सूचना अधिकारी शाहीका अनुसार उक्त चमेनागृह सञ्चालन गर्न आगामी असारसम्मका लागि करिब २५ लाख रुपियाँ आवश्यकता पर्ने भएको छ । त्यसको व्यवस्था नभएकै कारण सेवाग्राहीले पनि सास्ती खेप्नु परेको हो । तीन महिनादेखि चमेनागृह बन्द भएको भन्दै स्वास्थ्य सेवा कार्यालयले गत पुस २१ गते र चैत २७ गते गरी दुई पटक थप बजेटको माग गर्दा पनि मन्त्रालयले वास्ता नगरेकोमा उहाँले गुनासो गर्नुभयो ।