

हुम्ला । सिमकोट गाउँपालिका–८ याङगु गाउँका ५६ वर्षीय धनविरे कामीको उद्धार गरिएको छ । ६ वर्षदेखि छाउँगोठमा बस्दै आएका विरामी कामीको साउन १० गते जिल्ला अस्पताल हुम्लामा उद्धार गरिएको हो । यस अघि कामीका विषयमा विभिन्न सञ्चार माध्यममा समाचार प्रकासन भएको थियो ।
गत असार ३१ गते सामाजिक विकास कार्यालय हुम्लाको वार्षिक समिक्षा कार्यक्रममा सोही ठाउँका कामीको अवस्थाका बारेमा मानवअधिकारकर्मी एवम् नेपाल पत्रकार महासंघ हुम्लाका सचिव नन्द सिंहले समयमै उपचारको पहल गरिनु पर्ने अनुरोध गर्नु भएको थियो ।कार्यक्रममा सो कुरा निस्कीए लगतै प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर उमाकान्त तिवारीलाई तत्काल विरामीको उपचार गर्न निर्देशन दिनु भएको थियो ।
उक्त निर्देशन अनुसार जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिपक भण्डारी, स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डाक्टर उमाकान्त तिवारी र मानवअधिकारकर्मी एवम् नेपाल पत्रकार महासंघ हुम्लाका सचिव नन्द सिंह गाउँमै पुगेर यम्बुलेन्स मार्फत उद्धार गरेको डाक्टर तिवारीले बताउनुभयो ।
सोही दिन सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा पुगाएर उपचारको प्रक्रियालाई अघि बढाएको र विरामीलाई आफन्तले कुष्ठ रोग भनिएता पनि कुष्ठ रोग नभएको र स्वास्थ्य परिक्षण गरेर रिर्पोट आएपछि मात्रै रोग पत्ता लाग्ने प्रमुख तिवारीको भनाई छ । उहाँका अनुसार मानवअधिकारकर्मी एवम् पत्रकार सिंहले पहल गरेपछि उहाँको उपचार अघि बढेको हो । विरामी कामीको स्वास्थ्य सुधार नहुँदासम्म स्वास्थ्य सेवा कार्यालय हुम्लाले निशुल्क रुपमा उपचार गर्ने भएको छ ।
गाउँले र आफन्तको अन्धविश्वास र बेवास्ताका कारण कामी अझै पनि पीडादायक अवस्थामै छाउगोठमा एक्लै बस्दै आउनु परेको थियो ।
कामीको खुट्टा र शरिरको केही भाग चल्न नसक्ने भएको थिए । उहाँ शारीरिक रूपले पूर्ण रूपमा अपाङ्ग हुनु हुन्छ । हात, खुट्टाका औंला बाङ्गो छन् भने शरीर जम्मा भएर हिँडडुल गर्न समेत कठिन भएको छ । गाउँलेको अन्धविश्वासका कारण उहाँलाई छाउगोठमा राखिएको थियो । जहाँ उचित उपचार र हेरचाहको अभाव भएको थियो । रातदिन चिसो, भोक र वेदनाको बीच जिउन बाध्य भएका कामीलाई अवदेखि केही रुपमा राहत हुने भएको आफन्त जसपाल कामीले बताउनुभयो ।
उहाँको हेरचाहको लागि भाइहरूले प्रत्येक महिनाको पालो राखेका थिए । घरपरिवारले घरमै बस्न भने पनि गाउँलेहरूको डरले टाढै छाउगोठमा राख्नु परेको परिवारजनले बताउने गरेका छन् । ६ वर्षदेखि एकल जीवन बिताइरहेका कामी रातभरि चिसो, दिनभरि घाम अनि भोको पेट, बिरामीले शिथिल हुनु भएको छ ।
कामीले भन्नुभयो, “मलाई अझै आशा छ, म फेरि स्वस्थ भएर गाउँ फर्कन सक्छु । मेरो सबैभन्दा ठूलो चाहना भनेको फेरि जिउन र समाजमा स्वाभिमानका साथ बसेर जीवन बिताउनु हो ।” उहाँले थप भन्नुभयो, “म चाहन्छु, म जस्तो पीडित अरूहरूलाई पनि सरकार र समाजले सहयोग गरुन्, ताकि उनीहरूको जीवन पनि उज्यालो होस् ।” सरकार, सामाजिक संघसंस्था र समुदायले मिलेर यस्ता पीडितहरूको जीवन सुधार्नु, उपचार र सम्मान दिनु आजको आवश्यक हो ।