गैरआवासीय नेपाली संघको अध्यक्षमा रोविन शेरचनलाई कास्की समाजको समर्थन

Logo
Karnali Serophero आइतबार, फाल्गुण १०, २०८२

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न १२औँ अधिवेशनको सरगर्मी बढिरहेका बेला कास्की पोखरा समाज जापान र कास्की अन्तर्राष्ट्रिय समन्वय परिषद्ले संयुक्त रूपमा एक भर्चुअल कार्यक्रम आयोजना गरी अध्यक्ष पदका प्रत्यासी रोविन शेरचनलाई समर्थन गर्ने घोषणा गरेका छन्। कास्की जिल्लाबाट प्रतिनिधित्व गर्ने विभिन्न देशका गैरआवासीय नेपाली अभियन्ताहरूको ठुलो सहभागिता रहेको उक्त कार्यक्रममा शेरचनको उम्मेदवारीले संस्थामा व्याप्त फुट र अन्यौलता अन्त्य गर्ने विश्वास व्यक्त गरियो ।

कार्यक्रममा आफ्नो धारणा राख्दै अध्यक्षका उम्मेदवार रोविन शेरचनले संस्था पछिल्लो समय आन्तरिक कलह र समानान्तर कमिटी गठनका कारण धराशायी बनेकोमा चिन्ता व्यक्त गरे। आफू एक सच्चा ‘कास्केली’ भएको नाताले समाजले देखाएको सद्भावप्रति आभार प्रकट गर्दै उनले आसन्न निर्वाचनमा आफ्नो मुख्य ध्येय संस्थालाई एकढिक्का बनाउनु रहेको बताए। शेरचनले भने, ‘हामीले बारम्बार समानान्तर कमिटी बनाउँदा र संस्था विभाजन गर्दा गैरआवासीय नेपालीका मुद्दाहरू ओझेलमा परेका छन्। अब संस्थालाई नयाँ सोच, इमानदार नेतृत्व र सकारात्मक परिवर्तनका साथ अगाडि बढाउनुको विकल्प छैन।’

आफ्नो चुनावी अभियान र विदेशमा रहेका नेपालीहरूसँगको साक्षात्कारका लागि आफू चाँडै विश्व भ्रमणमा निस्कन लागेको जानकारी पनि शेरचनले दिए । उनका अनुसार आगामी शुक्रबारबाट न्युयोर्क, डालस, टोरन्टो, युरोप र मध्य पूर्वका देशहरूको भ्रमण गरी मार्च ८ तारिखसम्म नेपाल पुग्ने तालिका रहेको छ। उनले विभिन्न देशमा रहेका कास्कीली साथीहरूसँग प्रत्यक्ष भेटघाट गरी संस्थाको सुदृढीकरणका लागि सुझाव लिने प्रण समेत गरे।

कार्यक्रममा एनआरएनएका वर्तमान उपाध्यक्ष एवं आगामी कार्यकालका लागि महासचिवका प्रत्यासी रामशरण सिम्खडाले संस्थालाई जोगाउन अब सही नेतृत्व आवश्यक भएको बताए ।

कास्की पोखरा समाज जापानका अध्यक्ष कमल बाँस्तोलाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कास्की अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शिव बानियाँले संयोजन गरेका थिए। कार्यक्रममा अग्निधर देवकोटा, केदार कुँवर, तिलक चालिसे, सविन पौडेल, तीर्थ भण्डारी, अञ्जु भण्डारी, सञ्जीव श्रेष्ठ, रवीन बज्राचार्य, सन्तोष तिमल्सिना, विमल सुवेदी, बाबा राजेश्वरी थापा, राजेन्द्र गौतम र मोहन घले लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

सहभागी वक्ताहरूले संस्थामा शुद्धीकरण र एकताको खाँचो रहेको औँल्याउँदै रोविन शेरचन र उनको टिमलाई सफल बनाउन आ-आफ्नो क्षेत्रबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। एनआरएनएको महाधिवेशन मार्च दोस्रो साता हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला