काठमाडौं । सिटी होटल लिमिटेडको कुल २ करोड ७२ लाख ३९ हजार ३२८ कित्ता शेयरका लकइन आगामी जेठ ५ गतेपछि सकिने भएको छ । कम्पनीको संस्थापक तर्फको २ करोड ७१ लाख १८ हजार ८०० कित्ता र कर्मचारीतर्फको १ लाख २० हजार ५२८ कित्ता शेयरको लकइन जेठ ५ गतेपछि सकिने भएको हो ।
यी शेयर २०८० साल वैशाख ५ गतेदेखि लकइनमा रहेका थिए। थप सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीको स्वामित्वमा रहेका शेयर वाहेक सामूहिक लगानीकोषको स्वामित्वमा रहेको शेयर ६ महिनाका लागि र संस्थापक , आयोजना प्रभावित स्थानीय र कर्मचारीको स्वामित्वमा रहेको शेयर भने थप सर्वसाधारणमा आईपीओ बाँडफाँट भएको मितिदेखि ३ वर्षसम्मका लागि लकइनमा रहने व्यवस्था छ । सोही व्यवस्थाका कारण लकइनमा रहेका यी शेयर जेठ ५ गतेपछि कारोबार गर्न मिल्नेछ ।
यस कम्पनीले आईपीओ पछि ८० प्रतिशत हकप्रद शेयर समेत निष्कासन गरिसकेको छ ।
यस कम्पनीको अधिकृत पूँजी रू. ५ अर्ब रहेको कम्पनीको जारी पूँजी रू. ३ अर्ब १ करोड ३२ लाख रुपैयाँ छ । ८० प्रतिशत हकप्रद शेयरपछि कम्पनीको चुक्तापूँजी ३ अर्ब १ करोड ३२ लाख रुपैयाँ कायम भैसकेको छ ।
कम्पनीमा संस्थापक तर्फ ९० प्रतिशत र सर्वसाधारणतर्फ १० प्रतिशत शेयर स्वामित्व छ ।
यस कम्पनीले होटल तथा रेष्टुरेष्ट सञ्चालक गर्ने गरी २०७२ साल चैत १६ गते नेपाल सरकार, उद्योग विभागबाट स्वीकृति प्राप्त गरेको थियो । हाल होटल तथा रेष्टुरेन्ट सञ्चालनका लागि आवश्यक पर्ने सम्पूर्ण भौतिक संरचनाहरू निर्माण भैसकेका छन् । कम्पनीले काठमाडौंको सोल्टिमोडामा पाँच तारे होटल ह्यात प्यालेस सञ्चालन गरिरहेको छ ।
