हुम्ला । हुम्ला र बाजुराको सिमानामा अस्थायी प्रहरी चौकी निर्माण गर्ने विषयलाई लिएर दुई जिल्लाका स्थानीयवासीबीच भएको विवाद पछि झडप भएको घटनालाई लिएर बाजुरा जिल्लाको धुलाचौर बजारमा हुम्ली यात्रु अलपत्र परेका छन् । जेठ ५ गते मंगलबार बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा हुम्ला र बाजुराका स्थानीयवासीबीच भएको झडपमा परी छ जना घाइते भएको झोकमा देशका विभिन्न सहर काठमाडौँ, नेपालगन्ज र सुर्खेतदेखि हुम्लाका लागि प्रस्थान गरेका हुम्ली नागरिक दुईदिनदेखि बजुराको धुलाचौरमा अलपत्र परेका हुन् ।
उक्त विवादलाई लिएर बाजुराका स्थानीयले बुधबारदेखि हुम्ला आउँदै गरेका गाडीहरू अवरुद्ध गरेको हाल अलपत्र अवस्थामा परेका हुम्लाका स्थानीय चन्द्रसिंह कार्कीले जानकारी दिनुभयो । स्थानीय कार्कीका अनुसार हिजो बुधबारदेखि हुम्ला आउँदै गरेका सयौँ गाडीमा रहेका करीव २ सय भन्दा बढी यात्रु कर्णाली करिडोरको धुला चौरमा अलपत्र अवस्थामा परेका छौँ । बाजुराका स्थानीयले हुम्लाका नागरिक भन्दा वित्तिकै खाना, पानी र खाजा लगायत नदिने गरेको स्थानीय कार्कीले गुनासो गर्नुभयो ।
उहाँका अनुसार हालसम्म अलपत्र अवस्थामा रहेका नागरिकमा विशेष गरि हुम्लाका वृद्धवृद्धा, बालबालिका, विद्यार्थी र महिलाहरू रहेका छन् । अलपत्र अवस्थामा रहेका व्यक्तिहरूमा केही विरामी समेत रहेका छन् । हुम्ला छिर्न अनुमति नै नदिएपछि जिल्ला बाहिरका अधिकांस विभिन्न सहरबाट आएका नागरिक दुईदिनदेखि भोकभोकै बस्नु पर्ने बाध्यता छ ।
दुई जिल्ला विच भएको विवादले गर्दा हामी जस्ता सर्वसाधारण नागरिक समस्यामा पर्नु परेको अलपत्रमा परेका स्थानीय नागरिकले बताएका छन् । यतिवेला जिल्ला बाहिर जाने र जिल्ला भित्रिने यात्रु विचैमा संकट परे पनि हालसम्म सरोकारवाला निकायले चासो नगरेको स्थानीयले बताएका हुन् । त्यती मात्रै नभई हुम्लाका केही नागरिकले धुलाचौरमा पसल व्यवसाय गर्दै आएका छन् । ति सबै व्यवसायीका पसलहरू समेत बाजुराका नागरिकले बन्द गरि दिएका छन् । भने हाल धुलाचौर क्षेत्रमा टायर समेत बालेर विरोध जनाएका छन् ।
दुई जिल्लाको विवादपछि झडपमा परि घाइते हुनेमा पेमागारा गुरुङ, लक्ष्मी गुरुङ, मीन कुँवर र नरबहादुर गुरुङलाई उपचारका लागि सुर्खेत पठाइएको थियो । भने झडपका क्रममा प्रहरी चौकी बिच्छ्यामा कार्यरत प्रहरी सहायक हवल्दार महेश धामी र हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा पनि घाइते हुनुभएको थियो ।
हुम्लाको नाम्खा, ताँजाकोट, सर्केगाड र खार्पुनाथ गाउँपालिकासँग जोडिएको सीमावर्ती क्षेत्र लाम्पाटामा अस्थायी प्रहरी चौकी स्थापना गर्ने निर्णय भएपछि विवाद सुरु भएको थियो । स्थानीय गोठाला तथा बासिन्दाका अनुसार चौकी निर्माणका लागि प्राविधिक सहितको टोली पुगेपछि हुम्लाका स्थानीयले ‘कवाडी खोलाभन्दा वारिपट्टि आएर संरचना बनाउन खोजिएको’ भन्दै अवरोध गरेका थिए । सोही विषयमा विवाद चर्किदै जाँदा दुवै पक्षबीच ढुङ्गामुढा र झडप भएको थियो ।
धुलाचौरमा सडक अवरुद्ध बनाएको विाषयमा हुम्लाका प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले आफुले सहजीकरण गरि रहेको बताउनुभयो । सडक अवरुद्ध गर्ने कतै र कुनै पनि नियम छैन यसरी सडक अवरुद्ध बनाउन नमिल्ने भन्दै आफुले माथिल्लो विभागीय क्षेत्रमा पहल गरि रहेको प्रमुख जिल्ला अधिकारी रेग्मीको भनाई छ ।
