हुम्लाको अदानचुली गाउँपालिका–५ स्थित भेरा वनमा सुख्खा पहिरो जाँदा भेडाबाख्रा चराइ रहेका करिब ६१ वर्षीय टेकबहादुर शाही घाइते हुनु भएकाे छ । साेमबार पहिरोमा परी उहाँको टाउकोमा चोट लागेको छ भने कानबाट रगत बगेको छ ।
पहिरोमा परेका शाहीलाई स्थानीयवासीले उद्धार गरी अहिले स्ट्रेचरमा बोकेर थप उपचारका लागि श्रीनगर स्वास्थ्य चौकी ल्याइएको छ । अदानचुली गाउँपालिका–५ का वडा सदस्य सिंहबहादुर बोहोराका अनुसार पहिरोमा करिब २५ वटा बाख्रा पुरिएका छन । स्थानीय दिपबहादुर रोकायाका अनुसार पहिरोमा परेका बाख्रामध्ये हालसम्म १२ वटा मृत अवस्थामा भेटिएका छन ।
मृत भेटिएका बाख्रा मध्ये टेकबहादुर शाहीका तीनवटा र बिरबल रोकायाका नाै वटा गरी १२ वटा बाख्रा रहेका छन् ।पहिरोमा अझै बाख्रा पुरिएको हुन सक्ने भएकाले थप क्षतिको विवरण संकलन भइरहेको छ।
घटनापछि गल्फागाड प्रहरी चौकी श्रीनगरबाट समेत टोली घटनास्थलतर्फ परिचालन गरिएको छ । प्रहरी टोलीले घटनास्थलको अवस्था निरीक्षण गरी मानवीय तथा पशु चौपायाको क्षतिको यकिन विवरण संकलन गर्ने भएको छ।
स्थानीयका अनुसार भेरा वन क्षेत्रमा भेडाबाख्रा चराउने क्रममा अचानक पहिरो खसेपछि घटना भएको हो । पहिरोमा परेका घाइते शाहीलाई तत्काल उद्धार गरी उपचार गर्न लगिएको छ ।
घटनाप्रति स्थानीयले गम्भीर चासो व्यक्त गर्दै घाइतेको शीघ्र उपचार, पहिरोमा पुरिएका बाख्राको खोज तथा उद्धार र पीडित परिवारलाई आवश्यक राहत तथा सहयोगको व्यवस्था गर्न अदानचुली गाउँपालिका, प्रहरी प्रशासन, स्वास्थ्य तथा पशु सेवा कार्यालय लगायत सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
घटनाको थप खोज तथा उद्धार कार्य जारी रहेको छ भने पहिरोबाट भएको कुल क्षतिको विवरण अझै संकलन भइरहेको वडा सदस्य बाेहराले बताउनुभयो ।
