हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–३ उनापानीकी २६ वर्षीया पुस्पा डिसीलाई सुत्केरी व्यथा लागेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
सुत्केरी व्यथा लागेर असोज १४ गते बेलुका पुर्याइएकी डिसीको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि असोज १५ गते साँझ ६ः३० बजे नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी जिल्ला बाहिर प्रदेश अस्पताल सुर्खेत लगिएकाे जिल्ला अस्पताल हुम्लाकी सिनियर अनमी सरिता बोहराले जानकारी दिनुभयो।
सुत्केरी व्यथाले च्यापेकी डिसीको स्वास्थ्य अवस्थामा जटिलता देखिएपछि थप उपचारका लागि जिल्ला बाहिर लैजानुपरेको हो।
पेटमा रहेकाे बच्चाले भित्रै दिशा गरेपछि अस्फतालमा उपचार गर्न कठिन भएकाे थियाे । जिल्ला अस्पताल हुम्लामा बेहोस बनाउने चिकित्सक नभएका कारण यहाँ आवश्यक उपचार गर्न कठिनाइ भएको बताइएको छ।
जिल्लामा विशेषज्ञ चिकित्सकको अभाव हुँदा जटिल अवस्थाका गर्भवती तथा सुत्केरी महिलालाई समयमै उपचार गर्न चुनौती हुने गरेको छ । यस्तो अवस्थामा बिरामीलाई थप उपचारका लागि जिल्ला बाहिर लैजानुपर्ने बाध्यता रहेको छ।
जिल्ला अस्पताल हुम्लामा बेहोस बनाउने चिकित्सक केही दिनभित्रै जिल्ला बाहिरबाट आउने तयारी रहेको पनि जनाइएको छ।
उक्त चिकित्सक आएपछि शल्यक्रियासहितका आवश्यक उपचार सेवा सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ। सुत्केरी महिलाकाे राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत उद्धार गरिएकाे हाे ।
