सामाजिक विकासमन्त्री मल्लको टोली नाम्खामा: गाउँपालिकाद्वारा स्वागत

Logo
नन्द सिंह आइतबार, आश्विन २५, २०८३

हुम्ला । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लसहितको टोलीलाई हुम्लाको नाम्खा गाउँपालिकाले स्वागत गरेको छ ।

गाउँपालिका पुगेको मन्त्री मल्ल नेतृत्वको टोलीलाई गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीले स्वागत गरेका हुन् ।

टोलीको स्वागतपछि नाम्खा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर शाहीले गाउँपालिकामा हालसम्म सञ्चालन भएका विकास निर्माण तथा सेवा प्रवाहसम्बन्धी गतिविधिबारे जानकारी गराउनुभएको थियो ।

उहाँले गाउँपालिकाको समग्र विकासका लागि स्वास्थ्य, शिक्षा, सडक तथा अन्य पूर्वाधार क्षेत्रमा प्रदेश सरकारको सहयोग आवश्यक रहेको भन्दै मन्त्री मल्लसमक्ष विभिन्न माग प्रस्तुत गर्नुभएको थियो ।

भौगोलिक विकटताका कारण विकास निर्माण तथा नागरिकलाई आधारभूत सेवा उपलब्ध गराउन कठिनाइ हुँदै आएको नाम्खा गाउँपालिकाले विशेषगरी स्वास्थ्य सेवा, शैक्षिक गुणस्तर सुधार र सडक पूर्वाधार विकासमा प्रदेश सरकारको सहयोग अपेक्षा गरेको जनाएको छ ।

सो अवसरमा सामाजिक विकासमन्त्री मल्लले गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीले राखेका मागलाई सम्बोधन गर्ने बताउनुभएको थियो ।

स्थानीय तहबाट आएका माग र समस्यालाई सम्बोधन गर्न आवश्यक पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनुभएको हो ।
नाम्खा भ्रमणका क्रममा मन्त्री मल्लले याल्वाङलगायतका क्षेत्रमा नेकपा (एमाले) मा आबद्ध नेता तथा कार्यकर्तासँग समेत भेटघाट गर्नुभएको थियो ।

भ्रमणका क्रममा उहाँले स्थानीयस्तरमा रहेका विकासका सम्भावना र समस्याबारे जानकारी लिएको बताइएको छ ।
मन्त्री मल्ल नेतृत्वको टोलीले नाम्खा गाउँपालिकास्थित आनी गुम्बा होस्टेल, स्वास्थ्य संस्था तथा विद्यालयको समेत अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा सम्बन्धित संस्थाको अवस्था, सेवा प्रवाह तथा भौतिक पूर्वाधारबारे जानकारी लिइएको बताइएको छ ।

हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका भौगोलिक विकटताका कारण सडक, स्वास्थ्य, शिक्षा तथा अन्य आधारभूत सेवाको पहुँच विस्तारमा चुनौती सामना गर्दै आएको छ ।

 

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: बेलुमाया महतारा
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला