हुम्ला । भरखरै मात्र जिल्ला बाहिरबाट सरुवा भई हुम्ला आइ पुग्नु भएका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जिल्लामा सुशासन कायमका लागि आफु प्रतिवद्ध भएर लाग्ने बताएका छन् । असोज १२ गते शनिवार जिल्लामा काम गर्दै आएका सञ्चारकर्मीहरुसँगको भेटघाट तथा परिचयात्मक कार्यक्रम प्रजिअ पाण्डेले जिल्लामा सुशासान कार्यक्रम गर्ने, पारदर्शिता कायम गर्न, बिकास निर्माण छिटो, छरितो र गुणात्मक रुपमा गराउन, हवाई यातायातलाई व्यवस्थित गर्न, सडक सञ्जाललाई ब्यवस्थित गर्नेजस्ता साझा सवालमा सबै पक्षसँग मिलेर अगाडि बढ्ने कुरालाई पहिलो प्रथामिकतामा राखेको उल्लेख गरेका हुन् ।
उनले कतिपय कुरा सञ्चारकर्मीबाट मात्र जानकारी पाउने भएकाले त्यस्ता सूचना दिन जिल्लामा काम गर्ने सबै सञ्चारकर्मीलाई आग्रह गरेका थिए । पत्रकार भेटघाट कार्यक्रममा पत्रकारले दिएका सुझाव तथा प्रतिक्रियाबारे बोल्दै प्रजिअ पाण्डेले नियम र कानुनको परिधिभित्र मात्र रहेर काम गर्ने प्रतिबद्धता जनाए । पत्रकार भेटघाट कार्यक्रम परिवार सदस्यहरु बसेर कुराकानी गरिरहेको महसुस भएको बताउँदै जिल्ला रचनात्मक र सकारात्मक परिवर्तनका लागि सहकार्य गरेर अगाडि बढ्न आफू तयार भएको र हुन सक्ने बिकृति–विसंगतिको पर्दाफास गर्न पनि सञ्चारकर्मीलाई उनले आग्रह गरे ।
उनले विशेष गरी हवाई यातायात र पैदल यातायातलाई सहज बनाउनका लागि पहल गर्ने काम सुरु गरिसकेको र कर्मचारीले सेवाग्राहीको काम सहज रुपमा प्रदान गर्नका लागि कार्यालय प्रमुखले निर्देशन दिने कार्य भइसकेको बताए ।