हुम्लामा तीन दलबिच प्रतिस्पर्धी

Logo
Karnali Serophero सोमबार, फाल्गुण ०४, २०८२

हुम्ला । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मुख्य गरी जिल्लाका ठुला तीन राजनीतिक दलबिच चुनावी प्रतिस्पर्धा हुने भएको छ । अन्य दल चुनावी मैदानमा भए पनि मुख्य गरी नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीबिच नै प्रतिस्पर्धा हुने देखिएको हो । चुनावी प्रचारप्रसारका आधारमा तीन दलबिच नै मुख्य प्रतिस्पर्धा हुने गैरसरकारी संस्था हुम्लाका अध्यक्ष जनकबहादुर बुढाले बताउनुभयो ।

नेकपा एमालेका दलबहादुर फडेरा, नेपाली कांग्रेसका जयपति रोकाया र नेपाली कम्युनिस्ट पार्टीका डा. दीपेन्द्र रोकाया विच चुनावी प्रतिस्पर्धा हुने उहाँको भनाइ छ । विगतदेखि नै जिल्लामा यिनै तीन दलबिच प्रतिस्पर्धा भइरहेको र यस पटक पनि यिनै दलबिच प्रतिस्पर्धा हुने उहाँले बताउनुभयो । २०७९ सालको प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनमा हुम्लाबाट तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट छिरिङ डम्डुल लामा (कार्चेन) विजयी हुनुभएको थियो । त्यतिबेला लामा वामलोकतान्त्रिक गठबन्धनबाट विजयी हुनु भएको हो ।

कार्चेनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) उम्मेदवार दल रावलभन्दा ४ हजार ८ सय ५५ मत बढी ल्याएर विजयी हुनु भएको थियो । कार्चेनले १४ हजार ३ सय ७१ मत पाउँदा एमालेका रावलले ९ हजार ५ सय १६ मत पाउनुभएको थियो । रावल कर्णाली प्रदेश सरकारको पूर्वसामाजिक विकासमन्त्रीसमेत हुनुहुन्थ्यो । त्यसै गरी उक्त निर्वाचनमा राप्रपाका तेजबहादुर रावतले ३ सय ७९ पाउनुभएको थियो । त्यतिबेलाको निर्वाचनमा जम्मा तीन जनाको मात्रै उमेदवारी परेको थियो । उक्त निर्वाचनमा हुम्लामा ३३ हजार ३ सय ८ मतदाता थिए ।

जिल्लामा यी तीन दलबाहेक राष्ट्रिय स्वतन्त्र पार्टीका टासी ल्हाम्जोम, राष्ट्रिय प्रजातन्त्र प्रजाजन्त्र पार्टीका छक्क बुढा, नेकपा माओवादीका कुम्भ बुढा र प्रगतिशील लोकतान्त्रिक पार्टीका जटिल कार्की पनि चुनावी मैदानमा हुनुहुन्छ । यस पटक हुम्ला जिल्लाको मतदाता संख्या ३४ हजार ३ सय ७२ रहेको छ । त्यस्तै २०४६ मा बहुदलीय व्यवस्था पुनस्र्थापनापछि भएका संसदीय निर्वाचनमा हिमाली जिल्ला हुम्लाका जनताले पटक पटक मत परिवर्तन गरेको देखिन्छ । त्यसयताका चुनावमा संयुक्त जनमोर्चा नेपालका उमेदवारदेखि स्वतन्त्रसम्म अनि कांग्रेसका उमेदवारदेखि माओवादी र एमालेसम्मले हुम्लाबाट चुनाव जितेका थिए ।

२०४६ सालमा बहुदलीय व्यवस्था पुनस्र्थापनापछि २०४८ सालमा भएको निर्वाचनमा हुम्लाबाट संयुक्त जनमोर्चा नेपालका छक्कबहादुर लामा जम्मा आठ मतले विजयी हुनुभएको थियो । उहाँले चार हजार ६ सय ९५ मत पाउँदा उहाँँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चक्रबहादुर शाहीले चार हजार ६ सय ८७ र एमालेका गोरखबहादुर बोगटीले चार हजार ६ सय ४ मत पाउनुभएको थियो ।

त्यसपछि २०५१ सालमा कांग्रेसका चक्रबहादुर शाहीले सात हजार ८ सय ८७ मतसहित विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उमेदवार अङ्गबहादुर लामाले छ हजार ९९० मत पाउनुभएको थियो । एमालेका गोरखबहादुर बोगटीले पाँच हजार ७१९ मत पाउनुभएको थियो । २०५६ सालमा एमालेका गोरखबहादुर बोगटीले ११ हजार ८७१ मतसहित विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार चक्रबहादुर शाहीले सात हजार ६६२ मत पाउनुभएको थियो । स्वतन्त्र उम्मेदवार वीरजङ्ग शाहीले ९६२ मत प्राप्त गर्नुभएको थियो ।

२०६४ सालमा माओवादीका कर्णजित बुढाथोकी विजयी हुनुभएको थियो । २०७० सालमा कांग्रेसका जीवनबहादुर शाही आठ हजार ३३२ मतसहित निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी एमालेका दल रावलले चार हजार ९३९ मत पाउनुभएको थियो । तेस्रो भएको माओवादीका छक्कबहादुर लामाले चार हजार ७५९ मत पाउनुभएको थियो । २०७४ सालको निर्वाचनमा वाम गठबन्धनको कोटामा नपरेपछि स्वतन्त्र उम्मेदवार बनेका छक्कबहादुर लामा निर्वाचित हुनुभएको थियो ।

उहाँले आठ हजार ४९१ मत पाउँदा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मङ्गलबहादुर शाहीले आठ हजार ४४४ मत पाउनुभएको थियो । त्यतिबेला ४७ मतले लामा निर्वाचित हुनुभएको थियो । तेस्रो बनेका माओवादीका छिमी दोर्ची लामाले दुई हजार ८५६ मत पाउनुभएको थियो । त्यतिबेला वाम गठबन्धनको कोटामा लामा नपरेपछि बागी उम्मेदवार बन्नुभएको थियो ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला