आर्थिक विकासमा मिडियाको भूमिका महत्वपूर्ण : अध्यक्ष ढकाल

Logo
Karnali Serophero बिहिबार, चैत्र २६, २०८२

काठमाडौं । चन्द्रप्रसाद ढकाल, अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ ले देशको आर्थिक विकास, नीतिगत सुधार र लगानी प्रवर्द्धनमा सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्।

काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले महासंघले अघि सारेका नीतिगत एजेन्डा तथा निजी क्षेत्रका सरोकारलाई राष्ट्रिय बहसमा स्थापित गर्न मिडियाले खेलेको भूमिका प्रशंसनीय रहेको धारणा व्यक्त गरे।

अध्यक्ष ढकालले पत्रकारहरूले सरकार, निजी क्षेत्र र नागरिकबीच सेतुको भूमिका निर्वाह गर्दै नीति निर्माण प्रक्रियामा मार्गदर्शक शक्तिको रूपमा योगदान पुर्‍याएको उल्लेख गरे। आफ्नो कार्यकालको अन्त्यतिर आयोजित उक्त कार्यक्रमलाई निजी क्षेत्र र सञ्चार क्षेत्रबीच सम्बन्ध थप सुदृढ गर्ने अवसरका रूपमा लिएको उनले बताए।

उनका अनुसार कोभिड–१९ पछिको आर्थिक संकुचन तथा पछिल्ला अन्तर्राष्ट्रिय र आन्तरिक परिस्थितिका कारण अर्थतन्त्र प्रभावित भए पनि महासंघले नीतिगत पैरवी, लगानी प्रवर्द्धन र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा निरन्तर काम गर्दै आएको छ।

ढकालले आफ्नो कार्यकालमा आर्थिक संकट समाधान, लगानीमैत्री वातावरण निर्माण, सार्वजनिक–निजी साझेदारी सुदृढीकरण, रोजगारी सिर्जना तथा निजी क्षेत्रको मनोबल उच्च बनाउने विषयमा प्राथमिकताका साथ काम गरिएको जानकारी दिए।

उनले महासंघले परम्परागत माग राख्ने भूमिकाभन्दा अघि बढ्दै नीति निर्माण प्रक्रियामै सक्रिय सहभागिता जनाएको उल्लेख गर्दै नीतिगत सुधारमा महत्वपूर्ण उपलब्धि हासिल भएको दाबी गरे।

राष्ट्रिय आर्थिक बहसमार्फत सरकार, राजनीतिक दल, नियामक निकाय र निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याइएको तथा त्यसकै परिणामस्वरूप उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन भई ३० भन्दा बढी कानुन संशोधन गरिएको उनले बताए।

साथै महासंघकै सिफारिसमा नयाँ सरकारले निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीति (PSPP) स्वीकृत गरेको उल्लेख गर्दै यसले लगानी र व्यवसायको सुरक्षा तथा सम्मान सुनिश्चित गर्ने विश्वास व्यक्त गरे।

ढकालका अनुसार द्विपक्षीय लगानी सम्झौताका लागि मस्यौदा तयार भई विभिन्न मुलुकहरूसँग प्रक्रिया अघि बढाइएको छ भने भारत, चीन, संयुक्त अरब इमिरेट्स, कतार र बेलायतलगायत देशमा लगानी सम्मेलनमार्फत नेपाललाई आकर्षक लगानी गन्तव्यका रूपमा स्थापित गर्ने प्रयास गरिएको छ।

त्यसैगरी आन्तरिक लगानी प्रवर्द्धनका लागि १० अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना गरिएको र यसले पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नयाँ ढाँचा प्रस्तुत गरेको उनले जानकारी दिए।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला