हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित तुलिङमा ह्युम पाइप निर्माण गरेपछि यातायातका साधनलाई सहज भएको छ । जिल्लाको लिमि लाप्चादेखि मानसरोवर दर्शनका लागि सोही बाटो हुँदै जाने गर्दछ ।
पर्यटकीय क्षेत्रका रुपमा रहेको लिमिको लाप्चा पुगेर देश विदेशका पर्यटकहरू मानसरोवर दर्शन गर्ने गर्दछन् । यहाँ नत सन्चारको पहुँच छ । नत गास, बास र कपासको राम्रो व्यवस्था छ ? सदरमुकाम सिमकोटबाट आउदा जाँदा गरेर दुई दिन लाग्ने गर्दछ । यो समय भर सम्पर्क विहिन समेत हुनु पर्ने हुन्छ ।
उक्त क्षेत्रमा जानका लागि लिमिको तुलिङमा रहेको नदि आवत जावत गर्न सहज होस भन्ने उदेश्यले नाम्खा गाउँपालिकाको पहलमा उक्त ह्युम पाइप निर्माण गरिएको नाम्खा गाउँपालिका–६ लिमिका वडा अध्यक्ष पाल्जोर तामाङले बताउनुभयो ।
वडा अध्यक्ष तामाङका अनुसार विगत लामो समयदेखि लिमिका तीनवटा हल्जी, तिल र जाँग गाउँ र पर्यटकीय स्थल लाप्चा पुग्नलाई यातायातका साधनहरूलाई नदिमै वारपार गर्नु पर्ने बाध्यता थियो । जसले गर्दा यातायातका साधन र यात्रुले समेत कठिनाई भोग्नु पर्ने अवस्था थियो । तर अहिले नाम्खा गाउँपालिकाको पहलमा प्रदेस सरकारको २६ लाख रुपियाँमा उक्त हिमपाइप विछ्याइएको वडा अध्यक्ष तामाङले बताउनुभयो ।
यस अघि ह्युम पाइप नभएको समयमा केही गाडीहरू विचैमा फस्नु समेत परेको थियो । घटना ठूलो नभए पनि यहाँ पक्कि पुल नभएकै कारण हजारौँ पर्यटकहरूले कस्ट भोग्नु परेको थियो । उक्त समस्यालाई मध्य नजर राख्दै गाउँपालिकाले यतिवेला आठ वटा हिमपाइप जोडेर यातायातका साधन सहजै रुपमा गुड्न थालेका छन् ।
हिउँद वर्खाकै समयमा समस्या उत्पन्न नहोस् भन्दै उक्त तुलिङ खोलामा ति हिमपाइपहरू विछ्याउँदा हाल पुलका रुपमा काम भईरहेको अध्यक्ष तामाङको भनाई छ । वडा अध्यक्ष तामाङका अनुसार अझैँ उक्त हिमपाइप थप गर्नु पर्ने र वजेटको समेत माग गर्नु पर्ने भएको छ ।
विगत भन्दा यतिवेला हिमपाइप भएकै कारण आवतजावतमा सहज भएको छ । यो समय देश विदेशबाट हुम्ला हुँदै मानसरोवर दर्शन गर्ने पर्यटकहरूको संख्या वृद्धि भएको र उनिहरूका लागि सहज गर्ने उदेश्यले यो कार्यको थालनी गरिएको नाम्खा गाउँपालिका उपाध्यक्ष तक्दिर लामाले बताउनुभयो ।
बैशाखदेखि यता हालसम्म मात्रै हुम्लाको लिमि लाप्चाबाट दर्शन गर्ने पर्यटकहरूको संख्या ४ हजार १ सय भन्दा बढी पुगेको छ । पर्यटकको थप संख्या बढाउनलाई सल्ली लिमिलाप्चा सडक खण्डलाई थप प्रभावकारी बनाउनमा गाउँपालिका लागि परेको उपाध्यक्ष लामाले बताउनुभयो ।
