हुम्ला । दुर्गम गाउँबस्तीहरूमा विभिन्न अपराधिक घटनाहरू न्युनिकरणका लागि कानुनी परामर्श अभियान सञ्चालन गरिदै आएको छ । जिल्लामा पछिल्लो समय अपराध, ज्यादती र मानवअधिकारसंग सम्वन्धित घटनाहरू बढ्न नदिनका लागि जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाले गाउँबस्तीमा कानुनी परामर्श अभियान सञ्चालन गर्न थालेको हो ।
भौगोलिक हिसावले नाम्खा गाउँपालिका–६ को लिमिका तीनवटा गाउँहरू दुर्गम बस्तीका रुपमा चिनिन्छिन् । तिल, जाँग र हल्जी गाउँका अधिकांस नागरिक अहिले पनि नेपाली भाषाबाट टाढा छन् । गाउँभन्दा बाहिरका मानिसहरू आएपछि स्थानीयहरूले सहजै रुपमा नेपाली भाषा बोल्न र बुझ्न समेत कठिनाई हुने गर्दछ । नेपाली भाषा बुझ्नका लागि वडाअध्यक्ष र केही शिक्षित नागरिकको सहयोगमा कुनै पनि काम हुने गर्दछन् । जुन गाउँबस्तीमा नाम्खा गाउँपालिकाले यतिवेला सामाजिक न्याय बारे पहुँच नपुगेका स्थानमा घरेलु हिंसा तथा सामाजिक विभेद न्युनिकरण र न्याय सम्वन्धि कानुनी परामर्श गर्ने गरेको छ ।
नाम्खा गाउँपालिका न्यायिक समिति शाखा र जिल्ला अदालतको समन्वयमा यस कार्यको थालनि भईरहेको गाउँपालिका उपाध्यक्ष एबम् न्यायिक समिति संयोजक तक्दिर लामाले बताउनुभयो । दुरदराजका गाउँबस्तीमा विभिन्न अपराधका जगन्य घटनाहरू हुने भएकाले यसको पूर्व तयारी र यसलाई न्युनिकरण गर्न गाउँपालिकाले सकारात्मक भूमिका खेल्दै आएको उपाध्यक्ष लामाले बताउनुभयो ।
अभियानमा गाउँमा रहेका बालबालिका, महिला, पुरुष लागयतका स्थानीय नागरिकलाई सहभागि गराई कानुनी परामर्श गर्दै आएको उपाध्यक्ष लामाले बताउनुभयो । जसमा बाल विवाह, बहु विवाह, घरेलु हिंसा, सामाजिक, आर्थिक, मानसिक लगायतका विषयमा जिल्ला अदालत हुम्लाका न्यायाधीश निलकण्ठ बरालले सचेतिकरण गर्दै आउनु भएको छ । भने कुटपिट र जवरजस्तीकरणका विषयमा श्रेस्तेदार श्रीदिप वाग्लेले परामर्श गर्नु भएको छ ।
त्यस्तै गाली वेइजती र साइबरक्राइम लागयतका विषयमा बैतानिक वकिल मंगलबहादुर शाहीले सचेतना गर्नुभएको छ । हिमाली क्षेत्रको अझ थप उच्च स्थानमा रहेको वडाबासीलाई कानुनका कुरा जानकारी गराउनका लागि गाउँपालिकाले पहिलो प्राथमिकता राख्ने कार्य भइरहेको उपाध्यक्ष लामाले बताउनुभयो । हुम्लाको लिमि राज्यको पहुँच भन्दा टाढा रहेकोले अवदेखि नियमित रुपमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने र उनिहरूको जीवन शैली परिवर्तन गर्ने कार्यमा अग्रसरता रहने उपाध्यक्ष लामाले बताउनुभयो ।
