हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–८ स्थित स्याँडा गाउँमा पहिलो पटक गाडी पुगेको छ । पहिलो पटक गाडी पुगेपछि स्थानीयबासी खुसि भएका छन् । संघियता आएको करीव १० वर्ष पुग्न थाल्यो । तर हुम्लाका अधिकांस दुरदराजका वडामा अझै पनि यातायातको पहुँच पुगेको छैन । तर सिमकोट गाउँपालिकाका आठवटै वडामा सडकले छोएको छ । सिमकोटका सातवटा वडामा धेरै समय अघि नै सडक पुगि सकेको थियो । आठ नम्बर वडा कर्णाली नदि भन्दा पारी परेको र भौगोलिक कठिनाईका बावाजुत पनि १० वर्षपछि सो वडा सडकको पहुँचमा जोडिएकोे स्थानीय लाेकराज बुढाले बताउनुभयो ।
सिमकोट गाउँपालिकाले आर्थिक वर्ष २०८२।०८३ मा स्याँडा यांगु सडक खण्डमा १ करोड १२ लाख रुपियाँ वजेट विनियाजन गरेपछि हाल गाउँमै गाडी पुग्न सुरु गरेका छन् । यस अघि यहाँका हजारौँ नागरिक पैदल भएर गाउँमा जानु पर्थ्याे। भने यदि यातायातका साधन प्रयोग गर्नै परेमा वडा नम्बर ७ को धारापोरी पुगेर पैदल जानु पर्ने बाध्यता भएको स्थानीय बुढाको भनाई छ ।
जसले गर्दा स्थानयिको वषौँदेखिको प्रतीक्षा अन्ततः पूरा भएको छ । दुर्गम गाउँमा पहिलो पटक सवारीसाधन पुगेपछि स्थानीय बासिन्दामा खुसीको लहर छाएको छ । सडक पहुँच नहुँदा दशकौँसम्म पैदल यात्रा र घोडा–खच्चडको भरमा दैनिक आवश्यक सामग्री ओसारपसार गर्दै आएका गाउँलेहरू अब मोटरबाटोको सुविधासँग जोडिएका छन् ।
गाउँसम्म गाडी पुगेको दिन स्थानीयले फूलमाला, बाजागाजा र स्वागत कार्यक्रमको समेत आयोजना गर्दै गाउँपालिका कर्मचारी, जनप्रतिनिधि, चालक तथा निर्माणमा संलग्न व्यक्तिहरूलाई सम्मान गरेका थिए । बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म पहिलो पटक आफ्नै गाउँमा गाडी देख्न पाउँदा उत्साहित देखिएका छन । कतिपयले यस क्षणलाई गाउँको इतिहासमै नयाँ अध्यायको सुरुवातका रूपमा वर्णन गरेका छन् ।
स्थानीयका अनुसार सडक सञ्जालनमा आएपछि खाद्यान्न, निर्माण सामग्री, औषधि तथा अन्य अत्यावश्यक वस्तुहरू सहज रूपमा गाउँसम्म पुग्ने अपेक्षा गरिएको छ । यससँगै बिरामीलाई स्वास्थ्य संस्थासम्म पु¥याउन, कृषि उत्पादन बजारसम्म लैजान तथा विद्यार्थीको आवतजावतमा समेत ठूलो राहत पुग्ने भएको छ । स्थानीय जनप्रतिनिधिहरूले सडक निर्माणले गाउँको आर्थिक, सामाजिक र शैक्षिक विकासमा सकारात्मक प्रभाव पार्ने सिमकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले बताउनुभयो । उनीहरूले अब सडकको नियमित मर्मत, सुरक्षित सञ्चालन तथा स्तरोन्नतिमा सबै पक्षले ध्यान दिनुपर्ने आवश्यकता भएको अधिकृत पंगालीले बताउनुभयो ।
स्थानीयवासीले वर्षौंदेखिको सपना साकार भएको भन्दै सरकार, निर्माणमा खटिएका प्राविधिक तथा श्रमिकप्रति आभार व्यक्त गरेका छन् । उनीहरूका अनुसार गाउँमा पहिलो पटक गाडी पुग्नु केवल यातायातको सुविधा मात्र नभई विकास, अवसर र समृद्धिको नयाँ ढोका खुलेको वडा नम्बर आठका वडा अध्यक्ष कमल बुढाले बताउनुभयो ।
गाउँमा गाडी पुगेपछि स्थानीयमा नयाँ आशा जागेको छ । अब शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा व्यापार–व्यवसायका क्षेत्रमा थप सम्भावना सिर्जना हुने विश्वास गरिएको छ । गाउँलेहरूले सडकको दिगो संरक्षण गर्दै विकासका आगामी योजनालाई पनि तीव्रता दिन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
