हुम्ला । हुम्लामा लामो समयदेखि खाना पकाउने एलपी ग्यासको अभाव भएपछि उपभोक्ताहरूले सास्ती खेप्नुपरेको छ । ग्यास नपाउँदा स्थानीय बासिन्दा बिहानैदेखि खाली सिलिन्डर बोकेर सदरमुकाम सिमकोट बजार क्षेत्रमा लाइनमा बस्न बाध्य भएका हुन् ।
हुम्लामा विगत लामो समयदेखि नियमित रूपमा ग्यासका सिलिन्डर भित्रिन नसक्दा उपभोक्तालाई समस्या भएको हो । ग्यासको अभाव भएपछि खाना पकाउनका लागि आवश्यक सिलिन्डर साट्न स्थानीयवासीले घण्टौँसम्म पालो कुर्नुपर्ने अवस्था आएको छ ।
कतिपय उपभोक्ता बिहानै खाली सिलिन्डर लिएर बजारमा पुगे पनि पर्याप्त ग्यास नहुँदा आफ्नो पालो आउने हो कि होइन भन्ने अन्योलमा छन् । बिहीबार बिहान जिल्ला बाहिर नेपालगन्जबाट हुम्लाको सिमकोट स्थित आदित्य जनरल स्टोरमा जम्मा १ सय ५० वटा ग्यास सिलिन्डर आइपुगेको छ ।
तर, ग्यास साट्नका लागि बजारमा करिब २ सय ७० भन्दा बढी खाली सिलिन्डर लाइनमा राखिएको आदित्य जनरल स्टोरका प्रोप्राइटर रेसम महतले जानकारी दिनुभयो । आवश्यकताभन्दा कम मात्रामा ग्यास आएपछि सबै उपभोक्ताले सहज रूपमा ग्यास पाउने अवस्था नरहेको उहाँको भनाइ छ ।
लामो समयदेखि ग्यासको अभाव भइरहेका बेला सीमित मात्रामा सिलिन्डर आएपछि उपभोक्ताको भीड बढेको स्थानीय ऐटन रावलले बताउनुभयो । हुम्ला भौगोलिक रूपमा विकट र सडक तथा हवाई यातायातमा निर्भर जिल्ला भएकाले दैनिक उपभोग्य वस्तुको आपूर्ति नियमित हुन नसक्दा पटक–पटक समस्या देखिने गरेको छ ।
ग्यास ढुवानीमा हुने कठिनाइ तथा पर्याप्त मात्रामा आपूर्ति नहुँदा यसको प्रत्यक्ष असर उपभोक्तामाथि परेको स्थानीय रावलको गुनासो छ । ग्यास अभावका कारण कतिपय परिवारले दाउरा तथा अन्य वैकल्पिक इन्धन प्रयोग गर्नुपर्ने अवस्था आएको छ ।
विशेषगरी बजार क्षेत्रमा बसोबास गर्ने परिवारलाई दुई महिनादेखि दाउरा जुटाउन समेत कठिन हुने भएकाले ग्यासको नियमित आपूर्ति हुनुपर्ने स्थानीयको माग छ । स्थानीय उपभोक्ताले हुम्लामा आवश्यकता अनुसार नियमित रूपमा ग्यास आपूर्ति गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकाय र व्यवसायीलाई आग्रह गरेका छन् । लामो समयसम्म ग्यासको अभाव दोहोरिँदा उपभोक्ताले महँगो मूल्यमा वैकल्पिक इन्धन प्रयोग गर्नुपर्ने तथा दैनिक जीवनयापनमा थप समस्या हुने उनीहरूको भनाइ छ ।
हुम्लामा ग्यासको माग र आपूर्तिबीच ठूलो अन्तर देखिएपछि आगामी दिनमा समेत अभाव कायमै रहने हो कि भन्ने चिन्ता उपभोक्तामा बढेको छ । तत्काल पर्याप्त मात्रामा ग्यास आपूर्ति गरी खाली सिलिन्डर बोकेर सडकमा लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने स्थानीयको माग छ ।
यो पटक हुम्लामा भरि सिलिन्डर आइ पुगेको छ । जसको मुल्य ३ हजार २ सय रुपियाँ पर्ने भएको छ । उक्त सिलिन्डर भने अझै केही दिनसम्म वितरण नगर्ने र सदरमुकाम सिमकोटमा पर्याप्त आइ पुगेपछि मात्रै वितरण गर्ने भएको व्यवसायी महतले बताउनुभयो ।
