हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा यस वर्षको दसैंका लागि पर्याप्त खसी तथा च्याङ्ग्रा भित्रिन नसक्दा उपभोक्तालाई आफूले खोजेजस्ता पशु पाउन कठिन भएको छ ।
विगतका वर्षमा दसैं नजिकिँदै गर्दा बजारका विभिन्न गल्ली र चोकमा खसी तथा च्याङ्ग्रा देखिने गरे पनि यस वर्ष भने फूलपातीको दिनसम्म बजारमा पर्याप्त मात्रामा खसीबोका उपलब्ध हुन सकेका छैनन् ।
स्थानीय नैन सिंहका अनुसार गत वर्षजस्तो यस वर्ष बजारमा खोजेअनुसारका च्याङ्ग्रा भेटिएका छैनन् । विगतका वर्षमा दसैंका लागि खसी तथा च्याङ्ग्रा खरिद गर्न बजारमा पुग्ने उपभोक्ताले रोजेर किन्ने अवसर पाउने गरे पनि यस वर्ष त्यस्तो अवस्था नरहेको उहाँले बताउनुभयो ।
असोज ३१ गते फूलपाती भित्र्याउने दिनसम्म पनि सिमकोट बजारमा खसीको पर्याप्त आपूर्ति हुन सकेको छैन । बजारमा हालसम्म बढीमा तीन जना व्यवसायीले मात्रै खसी ल्याएको स्थानीयको भनाइ छ । गत वर्षकाे तुलनामा याे वर्ष चाैबरले खसी व्यवसायी घटेकाे देखिन्छ । बजारमा खसीको संख्या कम हुनुका साथै उपभोक्ताले आफ्नो रोजाइअनुसारका खसी पाउनसमेत कठिन भइरहेको बताउने गरेका छन् ।
खसी व्यवसायी प्रकाश सुनारका अनुसार हाल बजारमा खसीको मूल्य प्रतिगोटा १५ हजारदेखि २५ हजार रुपियाँसम्म पर्ने गरेकाे छ । खसीको आकार, तौल र गुणस्तरअनुसार मूल्य फरक पर्ने गरेको उहाँले बताउनुभयो ।
हुम्लामा दसैंका अवसरमा खसी काट्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहिआएको छ । यहाँको स्थानीय संस्कृतिअनुसार प्रत्येक घरमा दसैंका बेला एउटा खसीको बलि दिने चलन छ । यही परम्पराका कारण दसैंमा खसीको माग बढ्ने गरेको छ ।
तर, यस वर्ष दसैंको मुख्य दिन नजिकिँदै गर्दा समेत बजारमा पर्याप्त खसी उपलब्ध नहुँदा उपभोक्तालाई समस्या भएको छ । मागअनुसार खसी तथा च्याङ्ग्रा बजारमा नआउँदा उपभोक्ताले खोजेजस्तो पशु छनोट गर्न नपाएको स्थानीयले गुनासाे गरेका छन् ।
