हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–३ कारङगका एक जना स्थानीय जङ्गली भालुको आक्रमणबाट गम्भीर घाइते भएका छन् ।
बिहीबार बिहान गाउँको लेखमा गएको बेला अन्दाजी ४५ वर्षीय चक्रबहादुर शाहीलाई जङ्गली भालुले आक्रमण गरेको हो ।
करिव ४/५ जना लेखमा काठ दाउरा काट्न गएकाे समयमा भालुको आक्रमणबाट शाहीको मुखमा गम्भीर चोट लागेको स्थानीय बलिराम शाहीले जानकारी दिनुभयो ।
घाइते शाहीलाई उपचारका लागि बिहीबार नै जिल्ला अस्पताल हुम्ला लैजाने तयारी भइरहेको स्थानीय शाहीले बताउनुभयो । भालुको आक्रमणबाट मुखमा गम्भीर चोट लागेकाले तत्काल उपचारको आवश्यकता रहेको बताइएको छ ।
हुम्लाका ग्रामीण तथा वन क्षेत्र आसपासका बस्तीमा जङ्गली जनावरको जोखिम बढ्दै गएको अवस्थामा भालुको आक्रमणबाट स्थानीय घाइते भएपछि गाउँले त्रसित बनेका छन् ।
