

हुम्ला । हुम्लाको हिमाल पारी भनेर चिनिदै आएको नाम्खा गाउँपालिका–६ स्थित तिल गाउँ बाढी पहिरो आएपछि गाउँ नै उच्च जोखिममा रहेको छ । जेठ १ गते रातीको समयमा गाउँ भन्दा माथि रहेका दुईवटा हिमतालहरू फुटेपछि गाउँ नै उच्च जोखिममा रहनुका साथै हाल सो गाउँका स्थानीयहरू खुल्ला आकासको त्रिपाल मुनि बस्न बाध्य भएका छन् ।
बाढी पहिरोपछि अध्ययनका लागि पुगेको टोलीले हिमताल फुटेको फेला पारेको नाम्खा गाउँपालिकाका–६ का वडा सदस्य तेम्बा तुण्डुप लामाले बताउनुभयो । उहाँले आफूसहित ४ जनाको टोली ४७ सय मिटरभन्दा माथिको स्थानसम्म पुग्दा हिमताल फुटेको फेला पारेको बताउनुभयो । बाढी पहिरोले गाउँनै पुछ्ने अवस्था भएपछि गाउँका स्थानीयहरू पाँचदिनदेखि गाउँ नै छोडेर खल्ला आकास मुनि रात कटाउन बाध्य भएको वडा सदस्य लामाले बताउनुभयो ।
नाम्खा गाउँपालिका–६ को तिलगाउँ र कञ्जुम गुम्बाको बीच भएर बग्ने सेखाङलुग्वा खोलामा आकासे पानी नपरेरै एक्कासी बाढी आएको थियो । उक्त बाढी लगतै जोखिममा परेका १८ घरपरिवारका ३२ जना आफै सोही दिन सुरक्षित स्थानमा बसेका थिए । उनीहरु पहिरोले गाउँ नै बगाउने डरत्रासमा त्रिपालमा बस्दै आएका छन् । सो गाउँमा २१ महिला, ९ जना पुरुष र दुई बालक छन् ।
बिना वर्षा एक्कासी बाढी आउँदा त्रसित भएका स्थानीयले कारण खोज्दै खोलाको माथिल्लो भेगतिर जाँदा हिमताल फुटेको पत्ता पाएका थिए । लेदो सहितको पहिरोका कारण तिल्चुङ खोलामा रहेका ५ वटा काठे पुल बगाएको छ । स्थानीय छे बुटी लामाको घर चर्किएको छ भने सोनाम साङ्गु लामाको घरको छतमा पहिरोले क्षति पु¥याएको छ ।
१५ किलोवाट क्षमताको एउटा जलविद्युतको पावर हाउस बगाएको छ । भने करिब ४ सय रोपनीमा सिचाइँ हुँदै आएको कुलो समेत बगाएको छ । बाढी पहिरोका कारण उवा, आलु लगायतको खेती बगाएको वडा अध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । राती एक्कासी बाढी आउदा तिल गाउँबाट गुम्बा आवतजावत गर्नेबाटो अबरोध भएको छ ।
बाढी पहिरोले सबै तहसनहस बनाएपछि स्थानीय चिन्तित बन्दै गएका छन् । पहिरोका कारण स्थानीय जोखिम मोलेर बस्नु मात्रै नभई आगामी दिन गास, बास र कपासको समेत कठिनाई हुने स्थानीयले गुनासो गरेका छन् । उक्त घटना भएपछि हिल्सादेखि ६ घण्टा पैदल मार्ग हुँदै ७ जना नेपाल प्रहरी र ६ जना ससस्त्र प्रहरी बलको टोलि पहिरो ग्रसित क्षेत्रमा पुगेको डिएसपी संखर पोखरेलले बताउनुभयो ।
पहिरोले पु¥याएको क्षतिको थप विवरण संकलन भइरहेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो । गाउँ नजिकै दुई मिटर मात्रै रहेर पहिरो गएपछि पहिरोको असरले केही घरलाई क्षेती बनाएकोले मानिसहरू गाउँ नै छोडेर खुल्ला आकासमा बस्न बाध्य भएका हुन ।