

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा सञ्चालित एउटा मासु पसलमा सरोकारवाला निकायले निर्धारण गरेको मुल्या भन्दा बढी रकम असुली गरेको भन्दै अनुगमन टोलिले तालाबन्दी गरेको छ । मङलबार दिउसो जिल्लाको सदरमुकाम सिमकोटमा रहेका मासु पसलहरूको अनुगमन गर्ने क्रममा बजारको कालि चोकमा रहेको रविन्द्र स्वच्छ मासु पसलमा अनुगमन टोलिले तालाबन्दी गरेको उद्योग तथा उपभोक्त हित संरक्षण कार्यालयका प्रमुख हिरा सर्माले बताउनुभयो ।
प्रमुख सर्माका अनुसार यस अघि सरोकारावाला निकायले कुखुराको मासु र खसीको मासुको मुल्य निर्धारण गरिएको थियो । मुल्य निर्धारण अनुसार रविन्द्र स्वच्छ मासु पसलले निर्धारण गरेको रकम भन्दा बढी रकम असुली गरेको आरोप लगाउँदै पुसलनै शिल गरिएको हो । सिमकोट गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, उद्योग तथा उपभोक्त हित संरक्षण कार्यालय, उद्योग बाणिज्य संघ हुम्ला, नेपाल पत्रकार महासंघ हुम्ला लगायतका निकायहरू बसेको बैठकले खसीको मासुको मात्रै १ हजार १ सय र मिस्कट मासुको १ हजार रुपियाँ निर्धारण गरेको थियो ।
तर उक्त पसलको प्रोप्राइटर हरि ऐडीले नेट मासुको २ सय बढी गर्दै १ हजार ३ सय र मिस्कट मासुको १ सय बढी गर्दै १ हजार १ सय रुपियाँ असुली गरेको सिमकोट गाउँपालिका पशु शाखाका प्रमुख आशिस आचार्यले बताउनुभयो । नियम विपरित र उपभोक्तालाई ठगी गरेकै कारण कार्वाही गर्नु पर्ने हुँदा पसलमा तालाबन्दी गरिएको प्रमुख आचार्यले बताउनुभयो ।
सरोकारवाला निकायले गरेको निर्णयको विपरित गरेको आरोपमा आरोपितलाई १० हजार रुपियाँ जरिवाना गर्ने जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रतिनिधि धनबहादुर रावतले जानकारी दिनुभयो । सोही दिन सदरमुकाम सिमकोट भित्रका छवटा कुखुराको मासु पसल र तीनवटा खसीको मासुपसलमा अनुगमन गरिएको थियो । जसमा नौ वटा मासु पसलबाट किरा परेको र खान लाईक नभएको करिब ६० केजि बोइलर मासु बरामत गरिएको थियो ।