

हुम्ला । जिल्ला अस्पताल हुम्लामा आयुसियु सेवा नभएपछि गर्भवती महिलालाई जिल्ला बाहिर रिफर गर्नु पर्ने बाध्यता छ । सात वटा गाउँपालिका रहेको हुम्ला जिल्ला भूगोलका हिसावले निकै कठिनाई पनि हो । जसका कारण गर्भवती महिलाहरूलाई सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा पर्याउनका लागि एक÷दुई दिन लाग्ने गर्दछ ।
पहिले गाउँमा रहेका स्वास्थ्य संस्थाहरूमा लगिन्छ । तर त्याहाँ सफल नभएपछि गाउँपालिका स्वास्थ्य शाखासम्म पुराउँछन । त्यहाँ पनि सुरक्षित बर्थिङ सेन्टर नभएकै कारण गाउँपालिका स्वास्थ्य शाखा वा स्वास्थ्य संस्थाले सदरमुकाम सिमकोटको जिल्ला अस्पतालमा रिफर गर्ने प्रविधि छ । जिल्लाको दक्षिण भेगमा पर्ने चंखेली गाउँपालिका–६ चरी गाउँकी १८ वर्षिया धनशिला बुढाको जेठ ६ गते जिल्ला अस्पताल हुम्लामा उपचार हुन नसकेपछि जिल्ला बाहिर प्रादेशिक अस्पताल कालागाउँ सुर्खेतमा पठाउनु पर्ने बाध्यता भयो ।
यो एउटा प्रतिनिधि पात्र मात्रै हो । हुम्लामा अधिकांस सामान्य विरामीलाई पनि जिल्ला बाहिर लैजानु पर्ने बाध्यता छ । सात महिनाको गर्भवती बुढालाई एक हप्तादेखी स्वास्थ्यमा गढबढी भएपछि आफन्तले गाउँमा रहेको मेल्छाम स्वास्थ्यचौकीमा लगेका थिए । मेल्छाम स्वास्थ्यचौकीमा उपचार हुन नसकेकोपछि गाउँपालिका केन्द्र रहेको पिप्लाङ स्वास्थ्यचौकीमा रिफर गरियो । तर त्याहाँ पनि उपचार हुन नसकेको भन्दै सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा रिफर गरिएको बुढाका श्रीमान हर्कधन सिराले जानकारी दिनुभयो ।
श्रीमान सिराका अनुसार जिल्ला अस्पताल हुम्लामा जेठ ४ गतेदेखि भर्ना गरियो । तर उपचार हुन नसकेपछि जेठ ६ गते जिल्ला बाहिर लग्नु पर्ने बाध्यता भयो । जिल्ला अस्पतालमा उपचारका क्रममा श्रीमतिको शरिरमा विविरा (फोका)हरू उठ्ने, बेलाबेलामा व्यहोस हुने र रगतको मात्रा कमी, ज्वरो लगायतका समस्याले जिल्ला अस्पतालले रिफर गरेको सिराको भनाई छ ।
जिल्ला अस्पताल हुम्लामा आसियु (विशेष उपचार कक्ष) सेवा नभएकाले जिल्लामा उपचार हुन नसक्ने अवस्था भएपछि जिल्ला बाहिर रिफर गर्नु पर्ने बाध्यता भएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रतिक्षा भारतीले बताउनुभयो । उहाँका अनुसार गर्भवती महिलाको सुत्केरी हुने समय नभएकै महिलाको धड्कन लगायतको समस्याका कारण जिल्ला बाहिर पठाउनु पर्ने बाध्यता भयो ।
जिल्ला अस्पतालमा उक्त विरामको औषधि समेत नभएका कारण रिफर गरिएको प्रमुख भारीतको भनाई छ । हुम्लामा सुविधा सम्पन्न अस्पताल नहुनु, समयमै औषधि उपकरण, सम्बन्धित विराम सम्बन्धि विशेषज्ञ डाक्टर नहुँदा पनि सामान्य विरामका लागि जिल्ला बाहिर रिफर हुनु परेको सेवाग्राहीको भनाई छ । बुढालाई राष्ट्रिपति महिला उत्थान कार्यक्रमबाट मङगलबार जिल्ला बाहिर उद्धार गरिएको छ ।