

हुम्ला । खार्पुनाथ गाउँपालिका हुम्लाले सुझाव संकलन गरेको छ । गाउँपालिकाको आगामी दिनको कार्य योजनाका लागि सार्वजनिक सुनुवाइ मार्फत सुझाव संकलन गरेको हो । आइतबार सो गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि स्थानीय नागरिक, पूर्व जनप्रतिनिधि र सञ्चारकर्मीहरूबाट कार्यक्रमको निति योजना तथा सुझाव संकलन गरेको छ ।
खार्पुनाथ गाउँपालिकाको आयोजना तथा सामुदायिक रेडियो कैलाश एफ.एम. १०३ थोप्लो ४ मेगाहर्जको समन्वयमा पालिका केन्द्रमा संचालित कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाका प्रतिनिधि, स्थानीय बासिन्दा र सरोकारवालाहरूको सक्रिय सहभागितामा गाउँपालिकाले हालसम्म गरेका गतिविधि र भावि दिनको कार्य योजनाका बारेमा सुझाव संकलन गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले बताउनुभयो ।
कार्यक्रममा सहभागीहरूले गाउँपालिकाको विभिन्न योजनाहरूको बारेमा विचार, सुझाव, सल्लाह र प्रश्न गरेका थिए । विशेष गरी, स्थानीय पूर्वाधार, स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रका सुधारका लागि विभिन्न सुझाव र प्रतिक्रिया दिएका थिए । आगामी योजनामा नागरिकहरूको सुझावलाई सँगै राख्नका लागि गाउँपालिकाको प्रतिबद्धता जनाउदै हामी प्रत्येक कदममा जनताको सुझावलाई प्राथमिकता राख्ने कार्य गरेको गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाले आर्थिक वर्ष २०८१।०८२ को विनियोजन जम्मा ३९ करोड ८३ लाख ८४ हजार ८ सय १२ रुपियाँ ८१ पैसा मध्य १९ करोड २७ लाख २१ हजार ४ सय ७० रुपियाँ ७१ पैसा खर्च भएको छ ।