

हुम्ला । सर्केगाड गाउँपालिका–१ को अस्थायी प्रहरीचौकी बालुकनामा कार्यरत ४२ वर्षीय असई पुस्कर विष्ट र ३६ वर्षीय हवाल्दार राजबहादुर विष्टले सर्केगाड गाउँपालिका–१ तुम्च गाउका ५० वर्षीय मानबहादुर रावतलाई घाइते हुने गरि कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।
असार ३ गते साँझ पीडित रावतकी पत्नी ४२ वर्षीया हेलु रावत र मुगु जिल्लाको सोरु गाउपालिका–४ लुमे गाउँकी ३६ वर्षीया असाडी देवकोटा बिच सामान्य बिवाद भएपछि छलफलका लागि तुम्चको प्रहरी चौकि बालुकुनामा दुबै पक्ष गएको थियो । उक्त विवादलाई प्रहरीको साहयतामा छलफल गर्ने भनिएका स्थानीय रावतले उल्टै प्रहरीबाट घाइते हुने गरि कुटिएको पीडितले आरोप लगाउनुभयो ।
प्रहरीले पीडित भनिएका रावत मदिरा सेवन गरेर आएको भन्दै असई पुष्करले धकेलेर बाहिर फालेको र प्रहरी हवल्दार राजबहादुरले रावतको मुखमा मुक्का प्रहार गरि रगताम्य बनाएको पीडित रावतको भनाई छ । उक्त प्रहरीचौकीमा विवाद भएको भन्ने जानकारी आएकोले घटनाका विषयमा थप अनुसन्धान भई रहेको इन्स्पेक्टर विष्णु श्रेष्ठले बताउनुभयो ।