

काठमाडौं । जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले भोलि (बुधबार) साँझ साढे ५ बजे माइतीघरमा दीप प्रज्वलन गर्ने भएको छ ।
अनामनगरस्थित प्रदेश कार्यालयमा मंगलबार बसेको उपत्यका प्रदेश समितिको बैठकले आन्दोलनमा ज्यान गुमाउने नागरिक तथा सुरक्षाकर्मीहरुको सम्झनामा दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली सभा गर्ने निर्णय गरेको हो ।
बैठकले घाइते पत्रकार, सुरक्षाकर्मी तथा सर्वसाधारणको स्वास्थ्य लाभको कामना गर्दै घाइते र उनका परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गर्ने निर्णय पनि गरेको सचिव अजित अधिकारीले जनाएका छन् ।
बैठकले सञ्चार क्षेत्रमाथि भएको क्षतिको अभिलेखिकरणका लागि प्रदेश अध्यक्ष टेनिस रोकाको संयोजकत्वमा उपाध्यक्ष रमा न्यौपाने, सचिव अजित
अधिकारी, कोषाध्यक्ष संजीप घिमिरे ‘शुभचिन्तक’ तथा सदस्यहरु उमा शर्मा, रामशरण काफ्ले, रमिला योञ्जन र उपत्यकाको तीनैवटा जिल्ला शाखाका अध्यक्ष सम्मिलित कार्यदल गठन गरेको छ ।
बैठकले जेन-जी पुस्ताको आन्दोलनमा राज्य र प्रदर्शनकारी दुवै पक्षबाट सञ्चारकर्मीहरु आक्रमणमा परेकोप्रति दुःख व्यक्त गर्दै प्रेस स्वतन्त्रताको रक्षा गर्न सबैसँग अपिल पनि गरेको छ ।
साथै, आन्दोलनको क्रममा सञ्चारकर्मी तथा सञ्चार गृहमाथि आक्रमणमा संलग्नलाई कारबाही गर्न र क्षतिपूर्ति उपलब्ध गराउन राज्यसँग माग गर्ने निर्णय गरिएको सचिव अजित अधिकारीले एक प्रेस नोटमार्फत जानकारी गराएका छन् ।