काठमाडौं । सालपा विकास बैंक लिमिटेडले पुस १६ गतेदेखि थप सर्वसाधारणमा निष्कासन गरेको आईपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले थप सर्वसाधारणमा १४ लाख ३९ हजार १७९ कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो । मागभन्दा बढी आवेदन परिसकेकाले यो आईपीओ छिटो अवधि पुस २० गतेसम्म मात्र निष्कासन हुन लागेको हो । थप सर्वसाधारणमा निष्कासन गर्नुअघि कम्पनीले सर्वसाधारणमा जारी हुने शेयरमध्ये १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा निष्कासन तथा बाँडफाँट गरिसेकेको छ । मंसिर २५ देखि २९ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा १ लाख ७२ हजार ३८८ कित्ता शेयर निष्कासन गरी पुस ४ गते बाँडफाँट गरेको हो ।
यस कम्पनीले आफ्नो जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । पहिलो चरणको आईपीओ बाँडफाँटपछि कम्पनीले ८६ हजार १९४ कित्ता शेयर सामूहिक लगानीकोषका लागि समेत बाँडफाँट गरिसकेको छ । यी वाहेक २६ हजार ११९ कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको कम्पनीको भनाई छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म माग गर्दै आवेदन पेश गर्न सक्नेछन् । कम्पनीको आईपीओ निष्कान तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमाफृत आवेदन पेश गर्न सक्नेछन् । साथै मेरो शेयर अनलाईनमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ । आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने आईआरएन सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
अधिकृत पूँजी ८० करोड रुपैयाँ रहेको कम्पनीको जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँ रहेको छ । हाल कम्पनीमा ३५ करोड रुपैयाँ चुक्तापूँजी कायम छ । आईपीओ निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी जारी पूँजी बराबर कायम हुनेछ । हाल ६७ प्रतिशत संस्थापक शेयर स्वामित्व रहेको कम्पनीले सर्वसाधारणमा ३३ प्रतिशत शेयर निष्कासन गर्न लागेको हो। आर्थिक वर्ष ०८०।८१ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको जगेडा कोषमा २ करोड ४ लाख रुपैयाँभन्दा बढी छ । यस अवधिसम्म १०१ रुपैयाँ २० पैसा प्रतिशेयर नेटवर्थ रहेको कम्पनीको प्रतिशेयर आम्दानी भने ९ पैसा छ ।
