काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले पुस २९ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले यस अघि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा आईपीओ निष्कासन तथा बाँडफाँट गरी दोस्रो चरणमा थप सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । स्थानीयमा निष्कासन गरिएको शेयरको प्रि अलोटमेन्ट भैसकेको र अन्तिम बाँडफाँट हुन बाँकी रहेको छ ।
कम्पनीले आफ्नो जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । प्रतिशेयर १०० रुपैयाँका कुल कित्ता आईपीओमध्ये १ अर्ब रुपैयाँ बराबरको १ करोड आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरुका लागि र १० लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिसकिएको हो । यी वाहेक पनि ५ लाख कित्ता सामूहिक लगानी कोष र ३ लाख कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरि बाँकी रहेको ८२ लाख कित्ता आईपीओ भने थप सर्वसाधारण लगानीकर्तामा निष्कासन गर्न लागिएको हो ।
थप सर्वसाधारणमा यी आईपीओ निष्कासन मिति छिटोमा माघ ४ गतेसम्म तोकिएको छ । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा माघ १४ गतेसम्म निष्कासन लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्दै आवेदन पेश गर्न सक्नेछन् । आईपीओ निष्कासन तथा विक्री प्रबन्धकहरुमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड र हिमालयन क्यापिटल लिमिटेड रहेका छन् । विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन पेश गर्न सकिनेछ । साथै मेरो शेयर अनलाईनमार्फत पनि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने आइआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
यस कम्पनीले सोलुखुम्बु जिल्लाको सोलु खोलाको पानी उपयोग गरी ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्न सुरु गरिसकेको छ । यस आयोजनाबाट गत साउन २४ गतेदेखि व्यापारिक उत्पादन सुरु भएको हो । यस आयोजनाको कुल निर्माण लागत १६ अर्ब ३० करोड ४० लाख रुपैयाँ रहेको छ भने प्रति मेगावाट लागत १९ करोड ८८ लाख रुपैयाँ रहेको छ । यस आयोजनाको विद्युत उत्पादन अनुमति बहाल रहने मिति २१०६ साल चैत ४ गतेसम्म रहेको छ ।
आर्थिक वर्ष ०८०।८१ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी १ करोड ५८ लाख रुपयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी २३ पैसा छ भने प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ २१ पैसा छ । गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार भने कम्पनी २ अर्ब ८३ करोड ५७ लाख रुपैयाँभन्दाबढी सञ्चित नाफामा छ भने प्रतिशेयर आम्दानी ३ रुपेयाँ ३९ पैसा र प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ४५ पैसा छ ।
