हुम्ला । आफूहरुलाई सेवा सुविधा कम भएको भन्दै निर्वाचन प्रहरीहरूले जिल्ला प्रशासन कार्यालय घेराउ गर्नुका साथै नाराबाजी समेत गरेका छन् । उनीहरूले फागुन ५ गते जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएर नाराबाजी गरेका हुन् । उनीहरु पहिले भनिएको भन्दा कम तलब दिन लागिएको भन्ने खबर सुनेपछि असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका हुन् ।
फागुनमा २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि हुम्लामा ५ सय ९५ जना निर्वाचन प्रहरी भर्ना गरिएको छ । निर्वाचन प्रहरीहरूले प्रहरी जवानको प्रारम्भिक तलबमान सरह प्रतिदिन ८ सय ६९.४० रुपियाँका दरले ४० दिनसम्मका लागि ३४ हजार ७ सय ७६ रुपियाँ पाउँछन् । उनीहरूले मतदान दिनको अघिपछि गरेर चार दिनका लागि प्रतिव्यक्ति प्रतिदिन ३ सय रुपियाँका दरले एकमुष्ट १ हजार २ सय रुपियाँ खाजा खर्च समेत पाउँछन् ।
हिमाली क्षेत्रका निर्वाचन प्रहरीहरूले पहाडी र तराई क्षेत्रको तुलनामा केही रकम बढी पाउने गर्दछन् । फरक सुविधाका कारण हिमाली क्षेत्रको हकमा प्रति निर्वाचन प्रहरी खर्च ११ हजार ५ सय ७० रुपियाँ हुन्छ भने पहाडी क्षेत्रमा ७ हजार ९ सय ४५ रुपियाँ र तराई क्षेत्रमा ६ हजार १ सय ७० रुपियाँ पाउँने प्राव्धान छ । तर त्यसो नभई निर्वाचन प्रहरीको विभिन्न शिर्षकमा सेवासुविधा कटौती गरेको विषयलाई लिएर मंगलबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेको जानकारी दिंदै निर्वाचन प्रहरी प्रजोलन छत्यालले गुनासो गर्नुभयो ।
उक्त विषयमा प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले नियम अनुसार नै उनीहरूले सेवा सुविधा पाउने बताउनु भएको छ । निर्वाचन प्रहरीहरूले सेवा सुविधाको कुरा उठाएर नाराबाजी गरे पनि कार्यविधि र निर्देशिका अनुसार उनिहरूले सेवासुविधा पाउने प्रमुख जिल्ला अधिकारी रेग्मीको भनाइ छ । निर्वाचन प्रहरीले गरेको अपेक्षा अनुसार कार्यविधि र निर्देशिका उल्लेख नभएको बताइएको छ ।
