हुम्ला । सिमकोट गाउँपालिका वडा नम्वर ७ स्थित डाँडाफयाको चुक्याडीमा भएको आगलागीबाट एक घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । मङ्गलबार राति करिब ७ बजे लागेको आगो राति साढे १२ बजे मात्र नियन्त्रणमा आए पनि दुई तले जस्ताल पाताले छापेको ४ कोठे घर पुर्ण रुपमा जलेर नष्ट भएको घरधनी भागेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो ।
उहाँका अनुसार रातीको समयमा घर परिवारले खाना पकाउनका लागि हिटरमा आगो बालेको र घरधनी देवबहादुर शाही गाइ दुहुनका लागि गोठमा गएको समयमा एक्कासी हिटरको पाइप तातिएर सिलिङ गरेको फल्याकलाई आगोले छोएपछि आगलागी भएको हो । आगलागीबाट घरमा राखेको दुई तोला सुन, चादीका तीनवटा बाला, दुई क्विन्टल धान, १ क्विन्टल ६० केजी सिमि, चार क्विन्टल कोदो, एक क्विन्टल फापर, दुई क्विन्टल जौ, सिरक, तन्ना, लिउ फेरुवा, भाँडा र नगद २५ हजार गरि २३ लाख ५७ हजार रुपियाँ बराबर धनमालको क्षेती भएको धारापोरी प्रहरीचौकीका इन्चार्ज हरिसिंह भाटले जानकारी दिनुभयो ।
बुधबार विहान धारापोरी प्रहरीचौकीको टोलि घटना स्थलमा पुगि प्रहरी मुचुल्का गरेपछि उक्त क्षेतीको विवरण एकिन गरिएको प्रहरीले जनाएको छ ।
घर आगलागी भएर पुर्ण रुपमा क्षेती भएपछि अहिले आगलागी पीडित घरपरिवारलाई निकै समस्या भएको छ । आगो सोही ठाउँका स्थानीयले करीव पाँच घण्टापछि नियन्त्रणमा लिएका थिए ।
