हुम्ला । कार्यसम्पादन मूल्याङनमा हुम्लाका सात स्थानीय तह मध्य खार्पुनाथ गाउँपालिका उत्कृष्ट अंक सहित प्रथम भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१।०८२ को कार्यसम्पादन मूल्याङनमा कुल प्राप्त अंक मध्य ७१ दशमलव ६९ प्रतिशत उत्कृष्ट अंक ल्याउदै खार्पुनाथ गाउँपालिका प्रथम भएको हो ।
खार्पुनाथ गाउँपालिकाले गत वर्ष ७१ प्रतिशत अंक ल्याएर द्धितीया स्थान भएको थियो । कार्यसम्पादन मूल्याङनमा सबै भन्दा बढी अंक ल्याएर उत्कृष्ट भएको उक्त गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाहीले बताउनुभयो । गत वर्ष प्राप्त गरेको अंकमा सुधार गर्दै उक्त गाउँपालिकाले सबै भन्दा बढी अंक प्राप्त गरेर पहिलो भएसंगै काम गर्न हौसला मिलेको र अझै सुधार गर्न चुनौती पनि थपिएको उहाँले बताउनुभयो ।
त्यसैगरि सदरमुकाम रहेको सिमकोट गाउँपालिकाले ६२ दशमलव ९० प्रतिशत अंक प्राप्त गरेर दोस्रो स्थानमा रहेको छ । गत वर्ष सिमकोट गाउँपालिका ७२ प्रतिशत अंक ल्याएर पहिलो स्थान भएको थियो । त्यसैगरि चङ्खेली गाउँपालिकाले ६० दशमलव ५५ प्रतिशत अंक ल्याएर तेस्रो स्थान हुन सफल भएको छ । नाम्खा गाउँपालिकाले ५४ दशमलव ९२ प्रतिशत, ताँजाकोट गाउँपालिका ५२ दशमलव ४७ प्रतिशत, सर्केगार्ड गाउँपालिकाले ४८ दशमलव ३० प्रतिशत र अदानचुली गाउँपालिकाले ४७.६७ प्रतिशत अंक प्राप्त गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
आर्थिक वर्षको राजस्व र आय, व्ययको अनुमान समयमा गाउँसभामा पेस गरे नगरेको देखि समयमा बजेट पेश र सभाबाट पारित भए नभएको, स्थानीय तहले प्रदेश तथा संघमा पठाउनु पर्ने राजस्व समयमा पठाएको नपठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थी भर्ना, स्थानीय संचित कोषको ब्यवस्था गरे नगरेको, चालु तथा पूँजीगत खर्च प्रतिशत, आवधिक योजना तर्जुमा गरे नगरेको लगाएतका विभिन्न १७ वटा सूचांकको आधारमा मूल्याङनमा हुने गरेको छ ।
