हुम्ला । दुईसातादेखि बन्द रहेको जिल्ला अस्पताल हुम्लाको एक्सरे सेवा पुनः सञ्चालनमा आएको छ । गत माघ महिनाको २० गतेदेखि बन्द रहेको उक्त एक्सरे सेवा फागुन ६ गतेबाट पुुर्ण रुपमा सञ्चालनमा आएको हो । यस अघि अस्पतालमा पुगेका स्थानीय नागरिक रित्तो हातमा फर्कनु परेको भए पनि जिल्ला बाहिरबाट एक्सरे मेसिन हुम्ल आइ पुगेपछि यहाँका सेवाग्राहीले सहजै रुपमा सेवा पाएका हुन् ।
गत माघ २८ गते कर्णाली सेरोफेरो अनलाइन मिडियामा प्रकासन भएपछि जिल्ला अस्पताल हुम्लाले तत्काल एक्सरे मेसिनको बन्दबस्तो गरेर सेवा प्रवाहमा सहज गरेको हो । दुई हप्ता अघि एक्सरेको क्यासेट बिग्रिएपछि करीव दुईसाता सेवाग्राही एक्सरे सेवाबाट बञ्चित भएका थिए । दैनिक १० देखि १५ जना सेवाग्राही एक्सरे सेवा नहुँदा फर्किनु परेको स्थानीयले गुनासो गरेका थिए ।
पुरानो एक्सरे मर्मत गर्न तीनदेखि चार लाखसम्म खर्च लाग्ने भएकाले जिल्ला अस्पताल हुम्लाले उक्त मेसिन निक्स साइमन्स इन्स्टिच्युट ललितपुरलाई अनुरोध गरेको थियो ।
अस्पतालको अनुरोधपछि उक्त इन्स्टिच्युटले २ लाख १५ हजार बराबरको एक्सरे निशुल्क रुपमा सहयोग गरेको स्वास्थ्य सेवा कार्यालय हुम्लाका सुव्वा मणि कृष्ण जैसीले बताउनुभयो । आजबाट उक्त सेवा नियमित रुपमा प्रवाह हुने भएको बताइएको छ ।
