हुम्ला । हिल्दुम विधुत वितरण केन्द्रद्धारा सञ्चालित विधुत आपुर्ति नहँुदा जिल्लाका हरेक सरकारी तथा गैर सरकारी कार्यालयमा सेवा लिन आएका सेवाग्राही प्रभावित बनेका छन् । लामो समयदेखि जिल्लाको एक मात्रै सदरमुकाम सिमकोट र आसपासका गाउँपालिकाहरूलाई समेत सेवा दिंदै आएको उक्त विधुत सेवा पछिल्लो समय दुर्गर्ती र ओरालो तर्फ धकेलिदै गएको छ । विधुत सेवा उपलव्ध नभएकै कारण मालपोत कार्यालयमा सेवा लिन आएका सेवाग्राही रित्तो हातमा फर्कनु पर्ने बाध्यता छ ।
दरमुकाम सिमकोट स्थित मालपोत कार्यालयमा नियमित विधुत आपुर्ति नहँदा रजिस्टेशन, नामसारी, रोक्का फुकुवा, प्रतिलिपि, संसोधन लगायत दैनिक कारोवार हुने कामकाजहरू ठप्प भएको छ । घरबाट विग्रेको लालपुर्जा लिएर सच्याउनका लागि करीव एक हप्तादेखि मालपोत कार्यालय धाए पनि उक्त कार्यालयले विधुत लोडसेडिङको कारण देखाउँदै काम हुन नसकेकोको सिमकोट गाउँपालिका–६ का स्थानीय रोल रोकायाले गुनसो गर्नुभयो । आफु आएको दिनदेखि धेरै जसो सेवाग्राहीको काम बनेको देखिएन स्थनीय रोकायाले बताउनुभयो ।
हिल्दुम विधुत वितरण केन्द्रले समयमै विधुत नछोड्दा यहाँका सेवाग्राहीले सास्ती खेपी रहनु परेको मालपोत कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख प्रवेन्द्र कुमार यादवले बताउनुभयो । सेवाग्राहीले समयमै सेवा पाउनका लागि सोलार सिस्टमको व्यवस्था गरेपछि मात्रै सेवा प्रवाहमा सहज हुने निमित्त कार्यालय प्रमुख यादवले जानकारी दिनुभयो । उहाँका अनुसार एक जना सेवाग्राहीको एउटा काम पनि कम्तीमा ३÷४ दिन लगाउनु पर्ने बाध्य छ ।
उक्त विषयमा हिल्दुम विधुत वितरण केन्द्रका प्रमुख जितन्द्र शाहलाई बुझदा उहाँले खोलामा पानीको बहाव कम हुनुका साथै बजारमा विधुतलाई लोड बढी पर्ने र सबै ठाउँमा विधुत आपुर्ति गर्नु पर्ने भएकोले सदरमुकाम सिमकोटमा लोडसेडिङ बढी रहेको स्वीकार्नु भयो । विगत लामो समयदेखि जिल्लाको सदरमुकाम सिमकोट मात्रै नभई हुम्लाको सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकामा आपुर्ती हुँदै आएको विधुत दैनिक आठदेखि नौ घण्टा लोडसेडिङ हुनुमा कुनै नौलो हैन । तर वषौँदेखि नियमित रुपमा लोडसेडिङ किन हुन्छ भन्नेमा जिल्लाका कोही कसैको पनि चासो जाँदैन । यसको समधान गर्न र सेवाग्राहीले सहजै रुपमा सेवा पाउनका लागि सरोकारवाला निकायको समयमै ध्यान जानु पर्ने देखिएको छ ।
