हुम्ला । हुम्ला जिल्लाका ७ वटै गाउँपालिकामा रहेका केही मतदान स्थल र मतदान केन्द्र बाहेक अन्य सबैको अनुगमन तथा निरिक्षण सँगै अबलोकन समेत गरिएको छ । उक्त अनुगमन, नीरिक्षण तथा अवलोकन मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, निर्वाचन अधिकारी भिमबहादुर रोकाया, ४ वटै सुरक्षा निकायका प्रमुख र निर्वाचन आचार संहिता अनुगमन अधिकारीबाट संयुक्त रूपमा ती मतदान स्थलको स्थलगत निरीक्षण गरी सुरक्षा अवस्था, पहुँचमार्ग, सञ्चार सुविधा तथा आपतकालीन व्यवस्थापनको अवस्थाबारे समीक्षा गरिएको मुख्य निर्वाचन अधिकृत बरालले बताउनुभयो ।
केही भौगोलिक विकटताको अवस्था सँगै हिमपातले सडक संजाल बन्द भएका गाउँपालिकाका वडाका मतदान स्थल तथा मतदान केन्द्रमा पुग्न नसकेको भए पनि अन्य मतदान स्थल तथा मतदान केन्द्रको अनुगमन तथा निरिक्षण गरेको अधिकृत बरालले बताउनुभयो । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा हुम्लामा मतदान स्थल तथा केन्द्रको अनुगमनलाई तीव्र बनाइएको छ । तीमध्ये २७ वटा मतदान स्थल ‘अति संवेदनशील’ सूचीमा परेका छन् । सम्भावित सुरक्षा चुनौती, भौगोलिक विकटता र विगतका निर्वाचन अनुभवलाई आधार मानेर ती क्षेत्रलाई अति संवेदनशील श्रेणीमा राखिएको हो । प्रतिनिधि सभा निर्वाचन आउन अब केही दिन मात्र बाँकी रहँदा जिल्लामा चुनावी सरगर्मी बढेको छ ।
उम्मेदवार विकास, रोजगारी, सडक सञ्जाल विस्तार, कृषि आधुनिकीकरण तथा आधारभूत सेवामा सुधारका प्रतिबद्धता लिएर मतदाताको घरदैलोमा पुगेका छन् । गाउँ बस्तीमा चुनावी बहस, छलफल, भेटघाट र प्रचारप्रसार कार्यक्रम तीव्र बनेका छन् । जिल्ला सुरक्षा समितिले मतदातालाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्ने सुनिश्चितता दिन सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राखेको जनाएको छ । संवेदनशील र अति संवेदनशील मतदान स्थलमा विशेष निगरानी, नियमित गस्ती, चेकजाँच तथा आवागमन व्यवस्थापनको योजना बनाइएको छ । निर्वाचनप्रति मतदातामा उत्साह देखिएको पाइएको छ ।
