हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा खानेपानीको चरम अभाव भएको भन्दै स्थानीय महिलाहरूले जिल्ला प्रशासन कार्यालय हुम्लामा घेराउ गरेका छन् । गत फागुन २२ गतेदेखि यता सदरमुकाम सिमकोट बजारमा खानेपानीको चरम अभाव भएको भन्दै मंगलबार जिल्ला प्रशासन कार्यालय हुम्लामा बजारको एकताचोक र काठे चुली स्थित महिलाहरूले घेराउ गरेका हुन् ।
१० दिनदेखि धारामा पानी नआएको गुनासो गर्दै सिमकोट गाउँपालिका–५ र ६ बजार स्थित स्थानीय नागरिकहरू जिल्ला प्रशासन कार्यालय हुम्लामा धर्ना गर्दै प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीको ध्यानाआर्कषण समेत गराएका छन् । बजार स्थित नागरिकका धारामा पानी नआएपछि करीव १५ घरदुरी भन्दा बढी स्थानीय महिलाहरूले खाली (रित्तो) ग्यालेन, ड्रम र बाल्टिन बोकेर जिल्ला प्रशासन कार्यालय हुम्लाको मुल गेटमा धर्ना दिएका छन् ।
पटक पटक सिमकोट गाउँपालिकालाई खानेपानीको बेवस्था गर्न स्थानीयले माग गरे पनि सुनुवाई नगरेको प्रशासनमा पुगेकी स्थानीय उद्गम बुढाले गुनासो गर्नुभयो । उहाँका अनुसार धारामा पानी नआएपछि फागुन ३० गते सिमकोट गाउँपालिकालाई खानेपानीको समधान गरि दिने भन्दै निवेदन मार्फत अनुरोध गरे पनि त्यसको कुनै सुनुवाई नभएको हो ।
बजारका केही धाराहरूमा धमिलो पानी आउने गरेको छ । सिमकोट खानेपानी उपभोक्ता समितिको चरम लापरर्वाहीका कारण सिमकोट बजारमा बस्दै आएका सेवाग्राहीले सास्ती खेप्नु परेको हो । गाउँपालिकाले सुनुवाई नगरेपछि चैत ३ गते जिल्ला प्रशासन कार्यालयमा धाउनु परेको अर्का स्थानीय निर्मला ऐडीले गुनासो गर्नुभयो । प्रशासन घेराउ गरेकी महिलाहरूले संयुक्त माग गर्दै निवेदन पेस गरिएको छ ।
उक्त विषयमा प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीलाई बुझ्दा उहाँले खासै ठुलो समस्या नभएको प्रतिक्रिया दिनुभयो । यता लामो समयदेखि धारामा खानेपानीको अभाव झेल्दै आएका स्थानीको पीडा भने निकै कष्ठपुर्ण विति रहेको छ । उक्त विषयमा चैत ३ गते नै सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीलाई जिल्ला प्रशासन कार्यालयमै बोलाएर छलफल गर्दा हालसम्मको खानेपानीको समस्या गाउँपालिका अध्यक्ष भण्डारीले समाधान गर्ने भन्दै सहमति भएपछि धर्नामा बसेका महिलाहरू फिर्ता गरिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले जनाकारी दिनुभयो ।
