पञ्चवर्षीय योजना निर्माणमाका लागि रायसुझाव संकलन

Logo
Karnali Serophero शनिबार, चैत्र ०७, २०८२

हुम्ला । हुम्ला जिल्लाको प्राकृतिक सम्पदा संरक्षण र दिगो उपयोगलाई थप व्यवस्थित बनाउने उद्देश्यले डिभिजन वन कार्यालय हुम्लाद्वारा आयोजना गरिएको सरोकारवालाहरूसँगको सुझाव संकलन कार्यक्रम भावनात्मक र गम्भीर छलफलका बीच सफलतापूर्वक सम्पन्न भएको छ । शनिबार सञ्चालन भएको उक्त कार्यक्रमले जिल्लाको समग्र वन–जंगल, वनस्पति, बहुमूल्य जडिबुटी, नदी प्रणाली तथा वन्यजन्तु र पन्छीहरूको संरक्षण तथा व्यवस्थापनका विषयमा बहुआयामिक दृष्टिकोणबाट सारगर्भित रुपमा सुझावहरू संकलन गरेको छ ।

कार्यक्रममा सहभागी विभिन्न निकायका प्रतिनिधिहरूले पछिल्लो समय जिल्लामा बढ्दो भालु आतंकप्रति गहिरो चिन्ता व्यक्त गर्दै, भालुले मौरीको मह नष्ट गर्नुका साथै मानव जीवनमै समेत जोखिम सिर्जना गरिरहेको यथार्थलाई स्पर्शी ढंगले प्रस्तुत गरिएको थियो । उनीहरूले यस्तो समस्यालाई दीर्घकालीन रूपमा न्यूनीकरण गर्न प्रभावकारी रणनीति अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याएका छ ।

साथै, सामुदायिक वनको राजस्व संकलनमा देखिएको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउँदै डिभिजन वन कार्यालयले कडाइका साथ अनुगमन तथा नियमन गर्नुपर्ने माग समेत जोडदार रूपमा उठाइएको थियो । त्यसैगरी, जिल्लाका व्यापारी तथा व्यवसायीहरूले कार्ययोजनाभित्र समेटिन नसकेका विभिन्न प्रकारका जडिबुटीहरूको संकलन तथा बिक्री वितरणका लागि आवश्यक पुर्जी उपलब्ध गराउन माग राख्दै, स्थानीय आर्थिक गतिविधिलाई सुदृढ बनाउनुपर्ने आवाज पनि मुखरित गरेका थिए ।

कार्यक्रमका विशेष अतिथि तथा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले हुम्लाको विकास अब भावनामा सीमित नभई व्यवहारिक र व्यवसायमुखी ढंगले अघि बढ्नुपर्नेमा जोड दिँदै, पञ्चवर्षीय वन व्यवस्थापन कार्ययोजनालाई छिटो, छरितो र प्रभावकारी रूपमा कार्यान्वयन गर्नु पर्ने बताउनुभयो । उहाँले समयसापेक्ष योजना निर्माणमार्फत स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गर्दै जिल्लाको समृद्धिको बाटो खोल्नुपर्ने धारणा राख्नुभयो ।

यस कार्यक्रममा डा. नागेन्द्र प्रसाद यादवले प्रस्तुत गर्नुभएको पञ्चवर्षीय वन व्यवस्थापन कार्ययोजनासम्बन्धी विस्तृत प्रस्तुति कार्यक्रममा विशेष आकर्षण बनेको थियो । जसमा जिल्लाको पृष्ठभूमि, सामान्य परिचय, भू–उपयोगको अवस्था, वन क्षेत्रको विस्तृत विवरण, तथ्याङ्क संकलन विधि, कानूनी तथा नीतिगत आधार, वन व्यवस्थापनका रणनीति तथा निष्कर्षका पक्षहरूलाई सूक्ष्म ढंगले व्याख्या गरिएको थियो ।

डिभिजन वन कार्यालय हुम्लाका प्रमुख महेश कुमाईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख शिवराज शर्मा प्रमुख अतिथि, सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी विशेष अतिथि, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरू, तीन सुरक्षा निकायका प्रमुख तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमले वन संरक्षण मात्र नभई स्थानीय जनजीवन, अर्थतन्त्र र वातावरणीय सन्तुलनबीचको गहिरो सम्बन्धलाई उजागर गर्दै, हुम्लाको समग्र विकासका लागि साझा प्रतिबद्धता र सहकार्यको सन्देश प्रवाह गरेको छ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला