काठमाडौं । Blue Umbrella Day 2026 को अवसरमा हालै काठमाडौंमा बालकमाथि हुने हिंसा विषयमा
अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम हामी दाजुभाइ, मेन इन्गेज एलायन्स नेपाल र बालकविरुद्ध हिंसा अन्त्य गर्ने राष्ट्रिय सञ्जाल (VAB Network) को संयुक्त आयोजनामा सम्पन्न भएको हो ।
कार्यक्रम विशेष रूपमा समाजमा प्रायः कम छलफल हुने तर गम्भीर विषय बालकमाथि हुने हिंसा मा केन्द्रित थियो । पितृसत्तात्मक संरचना, कठोर पुरुषत्वका सामाजिक अपेक्षा र मानसिक दबाबका कारण धेरै बालकहरूले आफ्ना पीडा, भावनात्मक समस्या र हिंसाका अनुभव खुलेर व्यक्त गर्न नसक्ने अवस्था रहेको विषयमा गहिरो छलफल गरियो ।
मेन इन्गेज एलायन्स नेपालका राष्ट्रिय संयोजक अशोक शिवाकोटीले अध्यक्षता गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका बालबालिका संरक्षण शाखाका प्रमुख दुर्गा प्रसाद चालिसेले आगामी आर्थिक वर्षको बजेट तयारी तथा बालबालिका सम्बन्धी ऐन र कानुनी प्रावधानहरूको पुनरावलोकन प्रक्रियासँगै यस्तो कार्यक्रम समयसापेक्ष भएको बताउनुभयो । उहाँले नीतिगत रूपमा बालअधिकार सुनिश्चित भए पनि व्यवहारिक कार्यान्वयन अझै प्रभावकारी हुन नसकेको यथार्थ औंल्याउँदै, स्थानीय बाल समिति सुदृढीकरण, व्यापक सचेतना र बालबालिका सम्बन्धी ऐन २०७५ को पुनरावलोकन आवश्यक रहेको धारणा राख्नुभयो ।
साथै मानव बेचबिखन र सडक बालभिखारीको समस्यामा मन्त्रालयले काम गरिरहेको जानकारी पनि दिनुभयो। त्यस्तै आयोजक संस्था हामी दाजुभाइका संस्थापक अध्यक्ष सन्जोग ठकुरी ले मध्यस्थता गर्नुभएको प्यानल छलफलमा प्रा. डा. मीरा मिश्र (त्रिभुवन विश्वविद्यालय, महिला तथा लैङ्गिक अध्ययन केन्द्रीय विभाग) ले पितृसत्ताले पुरुष र बालकहरूलाई पनि गहिरो रूपमा प्रभावित गर्ने बताउनुभयो। बालबालिका हुर्काउने क्रममा “पुरुषले भावना देखाउनु हुँदैन” वा “कमजोर देखिनु हुँदैन” भन्ने सोच विकास गराइने हुँदा यसको नकारात्मक असर उनीहरूको मानसिक तथा भावनात्मक स्वास्थ्यमा पर्ने उल्लेख गर्नुभयो । उहाँले लैङ्गिक समानता हासिल गर्न पुरुषहरूको सक्रिय सहभागिता अपरिहार्य रहेकोमा जोड दिनुभयो ।
नील हिरा समाजमा कार्यरत ट्रान्स पुरुष अधिकारकर्मी एलिन भण्डारीले लैङ्गिक तथा यौनिक समुदायभित्र पनि द्वैध सोच (binary thinking) र पितृसत्तात्मक संरचनाको प्रभाव रहेको बताउनुभयो। विविध लैङ्गिक पहिचानलाई सम्मान गर्ने समावेशी दृष्टिकोण, समान व्यवहार तथा सुरक्षित वातावरण बालबालिका र युवाहरूका लागि अत्यन्त आवश्यक रहेको उहाँको भनाइ थियो ।
त्यस्तै, राष्ट्रिय किशोर बालक सञ्जालका प्रदेशस्तरीय सदस्यअन्तरिम घिमिरेले Boys Initiative Project मार्फत बालकहरूले डर विना आफ्ना अनुभव, पीडा र विचार व्यक्त गर्न सक्ने सुरक्षित वातावरण निर्माण भइरहेको जानकारी दिनुभयो। कार्यक्रममा बालक लक्षित हिंसा र विभेदविरुद्ध सचेतना तथा सकारात्मक पुरुषत्व प्रवर्द्धनका प्रयासहरूबारे पनि चर्चा गरियो। साथी संस्थाकी बाल संरक्षण अधिकृत कविता पन्तले बालकहरू पनि हिंसा र दुर्व्यवहार जस्ता जोखिममा रहने तर समाजको लाज, डर र दबाबका कारण उनीहरूले आफ्ना अनुभव लुकाउने प्रवृत्ति रहेको बताउनुभयो । उहाँले बालकहरूलाई सानैदेखि यौन शिक्षा, भावनात्मक अभिव्यक्ति र सुरक्षित रूपमा सहयोग खोज्न सक्ने वातावरण आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रमले बालकमाथि हुने हिंसाका विषयमा नीतिगत बहस, सामाजिक चेतना र समावेशी दृष्टिकोणलाई बलियो बनाउने अपेक्षा गरिएको आयोजक संस्थाहरूले जनाएका छन् । नीलो छाता दिवस प्रत्येक बालबालिकाको सुरक्षा, सम्मान र मर्यादा सुनिश्चित गर्न समाज, परिवार र राज्यको साझा जिम्मेवारीलाई उजागर गर्ने अभियानका रूपमा परिचित छ । छाताले बाहिरी प्रतिकूलताबाट जोगाए जस्तो सामाजिक, कानुनी र संस्थागत संरचनाहरूले बालबालिकालाई हिंसा, दुर्व्यवहार, शोषण र अन्यायबाट जोगाउनुपर्ने सन्देश अभियानले प्रवाह गर्ने कुरा संस्थाकी परियोजना संयोजक हसिना श्रेष्ठ ले बताउनुभयो । मार्भी न्यौपानेले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य सञ्जालको तर्फबाट कृति भट्टराईले दिनुभएको थियो ।
