हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । सिमकोटका आठवटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरिएको हो । आर्थिक वर्ष २०८२÷८३ मा सिमकोट गाउँपालिकाभित्र रहेका जन्मेदेखि २३ महिनासम्मका बालबालिकामध्ये ९५ प्रतिशत बालबालिकाले सरकारले तोकेका सबै प्रकारका खोप प्राप्त गरेको भन्दै उक्त गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरिएको छ ।
नियमित खोप सेवाको पहुँच विस्तार गर्दै सबै बालबालिकालाई खोपको दायरामा ल्याउने अभियान सफल भएको स्वास्थ्य शाखा संयोजक नरबहादुर भण्डारीले बताउनुभयो ।
पूर्ण खोप गाउँपालिका घोषणा गर्न स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण भूमिका रहेको थियो । गाउँ–गाउँमा पुगेर बालबालिकाको अवस्था पहिचान गर्ने, खोप छुटेका बालबालिकाको खोजी गर्ने र खोप लगाउन प्रेरित गर्ने काममा स्वास्थ्यकर्मी तथा स्वयंसेविकाले सक्रिय भूमिका निर्वाह गरेका थिए ।
‘खोज र खोप’ भन्ने अभियानका साथ सञ्चालन गरिएको कार्यक्रमले खोपबाट वञ्चित हुन सक्ने बालबालिकालाई पहिचान गरी आवश्यक खोप उपलब्ध गराउन सहयोग पुगेको सिमकोट गाउँपालिका अध्यक्ष जिवय भण्डारीले बताउनुभयो । बालबालिकालाई रोगबाट सुरक्षित राख्न नियमित खोप सेवा अत्यन्त महत्वपूर्ण रहेको छ । ‘पूर्ण खोप, सुरक्षित भविष्य’ भन्ने मूल नाराका साथ प्रत्येक वडामा अभियान सञ्चालन गरिएको संयोजक भण्डारीको भनाई छ । उहाँले बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि खोप कार्यक्रमलाई निरन्तरता दिँदै आगामी दिनमा पनि कुनै बालबालिका खोपबाट वञ्चित नहुने गरी काम गरिने बताउनुभयो ।
पूर्ण खोप दिगोपना सुनिश्चित घोषणाले गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सकारात्मक सन्देश दिएको छ । बालबालिकाको स्वास्थ्य अधिकार सुनिश्चित गर्न स्थानीय तह, स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी र समुदायबीचको सहकार्य आवश्यक छ । सिमकोट गाउँपालिकाले अब नियमित खोप सेवालाई थप प्रभावकारी बनाउँदै छुटेका बालबालिकाको खोजी तथा खोप अभियानलाई निरन्तरता दिने जनाएको छ । बालबालिकाको सुरक्षित भविष्य निर्माणका लागि पूर्ण खोप अभियानलाई दिगो बनाउन सबै पक्षको निरन्तर सहयोगको आवश्यक रहेको छ ।
