हुम्ला । हुम्लामा बरामद गरिएको नौ सय २८ बोतल चिनियाँ मदिरा नष्ट गरिएको छ । अवैध रूपमा हुम्ला भित्र्याइएको मदिरालाई सम्बन्धित निकायको रोहवरमा कानुनी प्रक्रिया पूरा गरी मंगलबार जिल्ला प्रहरी कार्यालय हुम्लाको खालि मैदानमा नष्ट गरिएको हो । सीमा क्षेत्रबाट अवैध रूपमा भित्रिने मदिराको बिक्री–वितरण रोक्न सञ्चालन गरिएको निगरानीका क्रममा उक्त मदिरा बरामद भएको जनाइएको छ । बरामद मदिरा लामो समयदेखि नियन्त्रणमा राखिएको थियो ।
आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि मंगलबार जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, विभिन्न सुरक्षा निकाय र सञ्चारकर्मीको रोहबरमा मदिरा नष्ट गरिएको हो । २०८२ फागुन १ गते चंखेलीमा १५ कार्टुन ६ बोतल, चैत ५ गते सिमकोटको हुमाने खोलामा १० कार्टुन १० बोतल र २०८३ बैशाख ४ गते सिमकोट कै हुमाने खोलामा ५१ कार्टुन गरि जम्म ७७ कार्टुन खाली चार बोतल गरि ९ सय २८ बोतल मदिरा प्रहरीले समातेको थियो ।
स्थानीय तीन जना व्यक्तिबाट जफत गरिएको उक्त मदिरा गत जेठ ७ र असार ६ गते कोष तथा लेखा नियन्त्रक हुम्लाले फैसला गरेको अन्तशुल्क अधिकृत अंगबहादुर कार्कीले बताउनुभयो । अवैध रूपमा भित्रिने मदिराका कारण सरकारी राजस्वमा क्षति पुग्नुका साथै गुणस्तर परीक्षण नभएका पेय पदार्थले उपभोक्ताको स्वास्थ्यमा समेत जोखिम सिर्जना गर्न सक्ने भएकाले यस्ता गतिविधिमाथि कडाइ गरिएको प्रहरी नायव उपरिक्षक शंकर खड्काले बताउनुभयो ।
हुम्ला–चीन सीमावर्ती क्षेत्र हुँदै हुने अवैध आयात तथा ओसारपसार नियन्त्रणका लागि सुरक्षा निकायले नियमित निगरानी र अनुगमनलाई निरन्तरता दिएको जनाएको छ । कानुन विपरीत मदिरा वा अन्य वस्तुको आयात–निर्यात तथा बिक्री–वितरण नगर्न प्रशासनले सबै सरोकारवालालाई आग्रह गर्दै यस्ता कार्यमा संलग्न भएको पाइए कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिएको छ ।
