हुम्ला । सिमकोट गाउँपालिका–७ डाँडाफयाका ५५ घरधुरी खानेपानीबाट बञ्चित भएका छन् । गाउँमा खानेपानीको हाहाकार भएपछि यहाँका ५५ घरधुरीले लामो समयदेखि खानेपानीको ठूलो संकट बेहोर्न बाध्य भएका हुन् । स्थानीय तह र सरोकारवाला निकायले खानेपानीको उचित व्यवस्थापन गर्न नसक्दा स्थानीय बासिन्दा एक ग्यालेन पानी भर्न आधा घण्टासम्म लाइनमा बस्न बाध्य छन् ।
विगत २५ वर्षदेखि पानीको व्यवस्था नगर्दा ओख्रेन गाउँका ५५ घरधुरी पुर्ण र जबुका गाउँका ३५ घरधुरी आंसिक रुपमा खानेपानीबाट बञ्चित हुनु परेको स्थानीय हरिबहादुर शाहीले गुनासो गर्नुभयो । स्थानीय शाहीका अनुसार यस अघि पटक पटक स्थानीयतह र खानेपानी सिंचाइ तथा उर्जा विकास कार्यालय हुम्लालाई पहल गर्दा पनि सुनुवाई नभएको गुनासो गर्नुभयो ।
गाउँको नजिकै रहेको बारा भन्ने स्थानमा उक्त पानीको मुहान रहेको भए पनि सोही मुहानको व्यवस्थापन गर्नका लागि आर्थिकको आवश्यकता पर्ने भएकोले सरोकारवाला निकायलाई गुहार्नु पर्ने बाध्यता भएको छ । तर सरोकारवाला निकायले उक्त कुरामा कुनै पनि चिन्ता र चासो नदेखाएको स्थानीय शाहीले बताउनुभयो । त्यस्को व्यवस्थापन नहुँदा पानी भित्रबाटै छिर्ने गरेकोले यस नजिक रहेका घरहरू जोखिममा रहेको स्थानीय शाहीको भनाई छ । त्यस्तै सोही ठाउँको जबुका गाउँका ३५ घरधुरी पनि उक्त खानेपानीकै भरमा पर्दै आएका छन् । जसले गर्दा घण्टौँ लाइनमा बस्नु पर्ने बाध्यता गाउँलेको समस्या ज्युकातिउँ छन् ।
भएका खानेपानीका पुराना मुहानहरू खडेरीका कारण क्रमिक रूपमा सुक्दै जानु र समयमै वैकल्पिक व्यवस्था नगरिनु नै यस समस्याको मुख्य कारण रहेको बताइएको छ । पानीको अभावमा गाउँका नागरिकको दैनिक जीवन कष्टकर बनेको छ । बिहान उठ्ने बित्तिकै खानेपानीको जोहो कसरी गर्ने भन्ने चिन्ताले यहाँका बासिन्दालाई पिरोल्ने गरेको छ । स्थानीय बासिन्दाका अनुसार गाउँमा वर्षौँ पहिले निर्माण गरिएको खानेपानी आयोजना पूर्ण रूपमा जिर्ण भइसकेको छ ।
विशेषगरी विद्यालय जाने उमेरका बालबालिकाहरू बिहानै पानी ओसार्न व्यस्त हुनुपर्दा उनीहरूको पढाइ समेत नराम्ररी प्रभावित भएको हुने गरेको छ ।“हामीले खानेपानीको समस्या समाधानका लागि वडा कार्यालयदेखि गाउँपालिकासम्म पटक–पटक डेलिगेसन गयौँ, तर आश्वासन बाहेक केही पाएनौँ,“ स्थानीयको भनाई छ ।
“चुनावका बेला घरघरमा धारा पु¥याउँछौँ भन्ने नेताहरू जितेपछि गाउँ नै फर्किने चलन छैन । अहिले हामी पानी नपाएर काकुल भएका छौँ । स्थानीय बासिन्दाले तत्कालका लागि कुनै न कुनै वैकल्पि माध्यमबाट पानीको व्यवस्था गरिदिन समेत माग गरिरहेका छन् ।
