हुम्ला । चीनको पुलान काउण्ट्री ताक्लाकोटको प्रतिनिधि मण्डलले सिमकोट हिल्सा सडकको च्याछरामा निर्माणधिन सडकको स्थलगत अवलोकन गरेको छ । नाम्खा गाउँपालिकाले आयोजना गरेको सिमा जोडिएका स्थानीय तहबिचको समन्वय बैठकमा सहभागी हुन आएको चिनीयाँ टोलीले सो सडकको अबलोकन गरेको हो ।
चिनीयाँ प्रतिनिधि मण्डलले च्याछरामा निर्माण कार्य भई रहेको सडकको स्थलगत अवलोकन गरेको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताए । हाल सो खण्डको सडकको स्तरोन्नती कार्य गर्नका लागि चट्टान बिष्फोट गर्ने कार्य भई रहेको छ । चिनीयाँ टोलीले निर्माण कार्यका बारेमा जानकारी लिएको थियो ।
अध्यक्ष लामाले सिमकोट हिल्सा सडकको निर्माण कार्यका बारेमा जानकारी गराउनका लागि टोलीलाई च्याछरामा लिएको बताउदै बिकास निर्माणको अवस्था पनि जानकारी टोलीलाई गरिएको बताए । त्यसैगरि टोली वडा नम्बर २ को वडा कार्यालय, सल्लीको निर्माण कार्य सम्पन्न भएको पक्की पुलको पनि अवलोकन गरेको थियो । चिनीयाँ प्रतिनिधि मण्डलको नेतृत्व स्थानीय प्रशासनका प्रमुख डुनजुले गरेका थिए ।
जसमा सुरक्षा, भन्सार, अध्यागमनका प्रमुखहरुको सहभागीता रहेको थियो । सो अवलोकन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोखरेल, चार वटा सुरक्षा निकायका प्रमुख, उपाध्यक्ष तकदिर लामा, निमित्त पमुख प्रशासकीय अधिकृत मोहनबहादुर शाही, वडा अध्यक्षको सहभागीता रहेको थियो ।
पहिलो पटक चिनीयाँ प्रतिनिधि नाम्खा गाउँपालिकामा आएर सहजै रुपमा बैठक सम्पन्न भएको हो । त्यस्तै उक्त टोलिलाई नेपालीहरुलाई चीन प्रवेशदेखि अन्य विभिन्न विषयमा सहज बनाउन नाम्खा लागयतको टोलिले अनुरोध गरेको थियो ।