हुम्ला। दक्षिण क्षेत्रकाे ताँजकोट गाउँपालिका–३ राम गाउँमा माटोको ढिस्कोमा परी दुई जनाको मृत्युभएको छ । असाेज १६ गते विहान दशैँका लागि घर लिपपाेत गर्ने माटो खन्ने क्रममा ढिस्कोमा परी गाउँपालिका रोजगार शाखाका प्राविधिक सहित दुई जनाको मृत्यु भएको ताँजकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख धनराज ढकालले बताए ।
मृत्यु हुनेमन गाउँपालिका रोजगार शाखा सहसंयोजक प्राविधिक रामगाउँका धुर्व शाही र सोही गाउँका २४ वर्षीया मनसरा मल्लको मृत्यु भएको संयोजक ढकालले जनाकारी दिए ।
उनिहरूसँगै माटो लिन गएका रामगाउँका २६ वर्षिय लालबहादुर शाही घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।
दशैँको लागि घर लिप्ने सेतो कमेरो माटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्युभएको हो । राम गाउँको औल स्थित सियाणी खोलामा भएको कमेरो माटोको खानीमा बुधबार विहान कमेरो माटो लिन गएको समयमा ढिस्कोमा पुरिएर मृत्यु भएकाे बताइएको छ ।
धेरै वर्षदेखि चाडबाडका अवसरमा कमेरो निकाल्दा ठूलो ओढार परेको ठाउँमा भित्र गएका बेला माथिबाटको ढिस्को पुरिदा शाही र मल्लको घटना स्थलमै ज्यान गएको ताँजकोट गाउँपालिकाले जनाएको छ ।
कमेरोको ओढारबाट भाग्ने क्रममा लालबहादुर शाही छोपिदा उनि घाइते भएका छन् । उनको तल्लो शरिरमा चोट लागेको बताइएको छ ।