

हुम्ला । एक महिनादेखि परेको अविरल वर्षाले सर्केगाड गाउँपालिका–७ कोट मावि रोडिकोड मताहतको कोट डाँडा आधारभुत विद्यालयको भवन भत्कदा विद्यार्थीहरू खुल्ला आकाशमुनीको चौरमा पठनपाठन गर्न बाध्य भएका छन् । गत एक महिनादेखि हुम्ला जिल्लामा नियमित रुपमा परेको अविरल वर्षाका कारण छ कोठे दुई तले भवन भत्कीएपछि पठनपाठन प्रभावित भएको हो ।
अविरल वर्षाले विद्यालय भत्कीएसंगै हाल उक्त विद्यालयका विद्यार्थीरूको करीव एक हप्तादेखि पठनपाठन प्रभावित भएको स्थानियवासी ओम प्रसाद जैसीले बताउनुभयो । कोट माध्यामिक विद्यालय रोडिकोट मताहतको उक्त आवासिय विद्यालयको नयाँ भवन निमार्ण गरी सिमाली भन्ने ठाउँमा सरेपछि उक्त विद्यालयको नाम कोट डाँडा आधारभुत विद्यालयको नामबाट कक्षा १ देखि ५ कक्षासम्म हाल संचालन हुँदै आएको छ ।
गत साउन १९ गते राती परेको अविरल वर्षाले २ तले ६ कोठे भवन पर्णरुपमा भत्केपछि विद्यार्थी खुल्ला चौरमा पठनपाठन गर्न वाध्य भएको जैसीको भनाई छ । यस अघि माध्यामिक तहका लागी निर्माण गरिएका केही भवन पुराना र जिर्ण भएको, ति भवनमा साना बालबालिकालाई पठन पाठन गराउदा बालमैत्री नहँदा विद्यार्थीलाई असहज हुने गरेकोले हाल नयाँ भवनबाट विद्यार्थीको पठनपाठन सञ्चालन हुँदै आएको थियो ।
उक्त विद्यालयमा हाल १ सय ५० जना बालबालिका अध्ययन गर्दै आएका छन् । उक्त विद्यालय भवन पुनः निर्माणका लागी सरोकारवाला निकायलाई पहल गर्दै आएको जैसीले बताउनुभयो । सो भवन भत्कदा विद्यालय भित्र रहेका बालबालिकाले अध्ययनका लागी प्रयोग हुने डेक्स, वेन्च, कार्पेट खेल सामग्री लगायतका भौतिक सामग्रीमा क्षेती बनाएको जैसीले बताउनुभयो । उक्त क्षेती भएपछि भत्कीएको विद्यालयको क्षेतीको प्रहरी मुचुल्का समेत भईसकेको छ ।