हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–७ नम्बर वडा कार्यालय निर्माणमा स्थानीयले विरोध जनाएका छन् । वडा अध्यक्षले गाउँका स्थानीय र वडा सदस्यहरूसंग समन्वय नगरेरै मनोमानित तवरले वडा कार्यालयको भवन निर्माण गर्न खोजेपछि स्थानीयले विरोध जनाएका हुन् । विगत लामो समयदेखि सो वडाको वडा कार्यालय सम्पुर्ण स्थानीयका लागि पायक पर्ने स्थान टुलिङ गाउँबाट उक्त सेवा प्रवाह हुँदा हुँदै वडाका जनप्रतिनिधिले आफुखुसी जनताका लागि अपायक पर्ने स्थानमा छुट्याएको बजेटको दुरुपयोग गर्न खोजेपछि गाउँका अधिकांस नागरिकले विरोध जनाएका छन् ।
यस अघि वडा नम्वर ७ को टुलिङ गाउँमा गाविस भवन निर्माण गरिएको थियो । उक्त गाविस भवन जिर्ण भएपछि सोही गाउँमा वडाले एउटा कोठा भाडामा लगेर सेवा प्रवाह गर्दै आएको थियो । तर पछिल्लो समय त्यो नभई वडा कार्यालयलाई सदरमुकाम सिमकोटमा सम्पर्क कार्यालयका रुपमा सञ्चालन गरियो । त्याहाँ हरेक नागरिकको पहुँज समेत पुग्न सकेन । कतिपय व्यक्तिहरू वडाबाट पाउनु पर्ने विभिन्न सिफारिसबाट समेत प्रभावित हुन पुगे ।
सरकारी भवन टुलिङमा हुनु पर्नेमा सोही वडाको चुक्याडी खोलामा नयाँ भवन निर्माण गर्दा वडाका प्रत्येक नागरिकले सास्ती खेप्नु पर्ने हुन्छ स्थानीय कविराज शाहीले गुनासो गर्नुभयो । हाल निर्माण गर्न थालिएको चुक्याडी खोला बाढी पहिरोको उच्च जोखिममा छ । यस अघि पटक पटक बाढी पहिरोले त्रसित गराएपछि चुक्याडीबासीले जिल्ला प्रशासन कार्यालय हुँदै प्रदेशसम्म बस्ती विस्तारको माग गर्दै आएका छन् ।
जसले गर्दा सोही ठाउँमा वडा कार्यालयको भवन निर्माण गर्न उपयुक्त नभएको स्थानीय शाहीले बताउनुभयो । हाल वडा कार्यालय निर्माण गर्ने भनिएको स्थान हिमपातका कारण ६ महिना मात्रै बस्ने ठाउँ हो । यहाँका बासिन्दा ६ महिना औल र ६ महिना लेक सर्ने गर्दछन् । हिमपातको सुसाटले हिउँदको महिनामा सो ठाउँमा खेपि नसक्नु हुन्छ ।
सो गाउँका अन्य नागरिक र वडा सदस्य कसैसंग समन्वय नगरि नयाँ भवन निर्माण गरिनुमा आफ्नो पनि घोर आपत्ति भएको वडा सदस्य हिरा सिंहले बताउनुभयो ।
वडा सदस्य सिंहका अनुसार भौगोलिक हिसावले वडा निकै टाढा छ । टुलिङमा सबै नागरिकलाई पायक पर्ने ठाउँ हो । तर हालको स्थान भनेको कसैलाई पनि पायक पर्ने स्थान हैन । त्यसैले वडा अध्यक्षले जनतालाई पायक पर्ने स्थानमा वडा कार्यालयको भवन निर्माणमा जुट्नु पर्ने भएको सदस्य सिंहको भनाई छ । कर्णाली प्रदेश अन्तरगतको सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०८२÷०८३ का लागि उक्त वडा भवन निर्माणमा ७० लाख रुपियाँ छुट्याएको सामाजिक विकास कार्यालय हुम्लाका प्रमुख इश्वरबहादुर सिंहले बताउनुभयो ।
वडा अध्यक्ष बलविर शाहीले वडाको भवन निर्माणका लागि उक्त कार्यालयबाट इन्जिनियर समेत बोलाएर स्थान समेत देखाउनु भएको छ । वडा भवन तत्काल निर्माण नगरेमा बजेट फिर्ता हुने भएकाले भवन निर्माणमा जुटेका हौँ, तर एकीन भई नसकेको वडा अध्यक्ष बलविर शाहीले बताउनुभयो । वडा अध्यक्ष शाहीका अनुसार गाविस भवन भएको ठाउँ पहिरोले लगेकोले विकल्पका रुपमा अन्य स्थान हेर्न थालिएको हो । उक्त विषयमा स्थानीय नागरिक र जनप्रतिनिधिहरूसंग बसेर छलफल गर्ने वडा अध्यक्ष शाहीको भनाई छ ।
