काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले प्रस्ताव गरेको लाभांश मंसिर २२ गतेसम्म कायम शेयरधनीहरुले मात्र पाउनेछन् । यस वर्ष कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुल १० दशमलव ३६ प्रतिशत लाभांश वितरण गर्न लागेको छ।
कात्तिक २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८१/८२ को मुनाफाबाट हाल कायम चुुक्तापूँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार रुपैयाँको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ दशमलव ३६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले यस वर्ष अघिल्ला तीन आर्थिक वर्षभन्दा बढी लाभांश वितरण गर्न लागेको हो। यस अघिको तीन आर्थिक वर्ष भने कम्पनीले १० प्रतिशतभन्दा कम लाभांश वितरण गरेको थियो । गत वर्ष भने कम्पनीले ३ दशमलव ६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव १९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
यस वर्षको प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले पुस ७ गते २१औं वार्षिक साधारण सभा बोलाएको छ । यो साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २३ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा मंसिर २२ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुने भएका हुन ।
